अविरल वर्षले कैलालीका ४ पालिका प्रभावित, सयौं घर डुबानमा

कैलाली । अविरल वर्षासँगै कैलाली जिल्लास्थित नदी नालामा आएको बाढीले ४ पालिक प्रभावित भएको छ । बाढीले करिब ५ सय घर डुबानमा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तथा बाढीमा फसेकाहरूको उद्धारको काम भइरहेको भजनी नगरपालिका नगर प्रमुख केवलले चौधरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।

प्रशासनको पछिल्लो तथ्यांक अनुसार कैलारी गाउँपालिकाको वडा नं. ७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन् । त्यस्तै, जोशीपुर गाउँपालिकाको वडा नं. ३ का ५६ घर, भजनी नगरपालिकाको वडा २, ३, ५, ८ र ७ को बस्ती बाढीले प्रभावित छ ।

प्रभावितहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
बाढीको उच्च जोखिममा रहँदै आएको भजनी नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार भन्दा बढी नगरवासी प्रभावित भएका छन् ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको जानकारी दिए । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको बताउँदै उनले उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।

नगर प्रवक्ता चौधरीका अनुसार कोही सेफ हाउसमा जानुभएको छ । कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएको छ । यो क्रम बढ्दो छ । हामी तथ्यां लिने क्रम पनि जारी राखेका छौ ।

यसैबीच उनले उद्धारमा र राहत सहयोगमा कुनै निकायले सहयोग नगरेको बताए । नगरपालिकाका कै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरे ।

भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ ।