छोरी जोगाउन आमालाई प्रोत्साहन भत्ता
कञ्चनपुर, २० साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छोरीको जन्म दिने आमालाई २ हजार रुपैया प्रोत्साहन भत्ता दिने भएको छ। चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तरगत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले जानकारी दिईन् ।
‘भ्रुण परीक्षण गरेर छोरी भए, अपरेशन गरेर फाल्ने चलन छ। त्यसलाई रोक्न बालिका प्रोत्साहन कार्यक्रम अघि सारेका हौं, यसले भ्रुण चेक गर्ने अपराध कम हुने अपेक्षा राखेका छौं,’ उनले भनिन्। उनका अनुसार नगरपालिका भित्र अहिले पनि सानै उमेरमा विवाह गर्ने र त्यसैमाथि छोराको आशमा पटक पटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भिर असर परेको छ।
बालिका प्रोत्साहन कार्यक्रमले बालविवाह पनि रोक्न सक्ने पालिकाको अपेक्षा छ । बालिका प्रोत्सान कार्यक्रममा आमाको नागरिकता, विवाह दर्ता, छोरीको जन्मदर्ता लगायतका कागजात र अन्य सबै प्रक्रिया पुरा गरेर खाता खोलिने प्रावधान छ । छोरी जन्माउने आमालाई उनीहरूले खोलेको खातामा दुई हजार रकम उपलब्ध गराउने छन् ।
यसअघि बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि छोरी जन्माउने आमालाई दुई हजार प्रोत्साहन भत्ता दिने कार्यक्रम संचालन गरेको थियो।













