आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

कैलाली, १४ साउन । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरसको संक्रमण फैलिएको छ । संक्रमण फैलिएपछि दुबै जिल्लामा आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको हो ।

गेटा आँखा अस्पतालका प्रमुख डा. सुरेशराज पन्तले कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताए । गेटा आँखा अस्पतालसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधराचाँदनी लगायतका स्थानका आँखा उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको उनले बताए ।

‘अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । यो कन्जक्टिभाइटिस भाइरसका कारणले भएको हो’, पन्तले भने, ‘गेटा आँखा अस्पताल, कैलाली र कञ्चनपुरमा रहेका उपचार केन्द्रहरुमा दैनिक यी समस्या भएका बिरामीहरु आइरहेका छन् । ओपीडीमा चेकजाँच गर्ने मध्ये ५० प्रतिशत बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या भएका छन् ।’

उनका अनुसार गेटा आँखा अस्पतालमा मात्र दैनिक १०० जना बिरामी कन्जक्टिभाइटिस भाइरसका आइरहेका छन् । यो सामान्य किसिमको भाइरस भएकाले एकदेखि डेढ हप्तासम्म आफैं निको हुने बताउदै डा. पन्तले कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरे । उनले भाइरसको संक्रमण भएको समयमा ब्याक्टेरियल इन्फेक्सन हुने जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर एन्टिबायोटिक औषधी खान सुझाव दिए ।