गेटा विश्वविद्यालय सञ्चालनको नेतृत्व प्रदेश सरकारले लिन तयारी
कैलाली, १२ साउन । कैलालीको गेटा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रिया अगाडी बढेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । उनले संघीय सरकार गेटामा विश्वविद्यालय चलाउन आवश्यक प्रक्रिया थालेको बताए ।
गेटा विश्वविद्यालय सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना भएकाले अस्पताल र मेडिकल विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकारसँग साझेदारी गर्न चाहेको मुख्यमन्त्री शाहले बताए । ‘गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको विषय प्रदेश र संघ सरकारको प्राथमिकतामा परेको छ ।’
उनका अनुसार मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा संघीय सरकारको नीतिमा परेको र प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र प्रदेश सरकार विश्वविद्यालय चलाउन एकमत छन । गेटामा निर्मित मेडिकल पूर्वाधारको निरीक्षणको क्रममा प्रदेश सरकार पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न साझेदारी गर्न तयार रहेकोमुख्यमन्त्री शाहले बताए ।
प्रदेश सरकारले गेटामा साउनभित्रै न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ । सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको र जनशक्ति पुग्ने बित्तिकै ओपिडी सेवा चलाउने तयारी छ। अहिले अस्पतालका लागि तीन जना विषेशज्ञ डाक्टर मात्र रहेकाले कम्तिमा ८ जना विषेशज्ञ चिकित्सक आउना साथ अस्पताल सञ्चालनमा आउने गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए।
‘हामी पहिलो चरणमा एक सय शय्याको न्यूनतम उपचार सेवाको अस्पताल चलाउने तयारीमा लागेका छौँ। एक सय शय्याबाट क्रमिक शय्या बढाउने योजनामा पनि काम अगाडि बढ्ने छ ।’













