ममाथि ‘मिडिया ट्रायल’ गरियो : आरजु राणा
काठमाडौं, ९ साउन । राणाले मिडियाबाट हुने आक्रमणका सवालमा पार्टीले प्रतिरक्षाको रणनीति बनाउनुपर्ने पनि बताएकी छिन्।
नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन्। आज बिहान नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा राणाले यस्तो बताएकी हुन्।
उनले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने भए पनि कहिलेकाहीं मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको बताइन्।
“कहिलेकाहीं मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो,” उनले भनिन्, “यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो। टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिनँ र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो।”
मिडियाबाट गरिने आक्रमणका मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राणाले व्यक्त गरिन्। (रासस)













