आज २३औं मुक्तकमैया दिवस, अझै २ हजार बढी परिवार पुनःस्थापनाबाट बञ्चित

कैलाली, २ सावन । २३औं मुक्तकमैया दिवस मनाउदै गर्दा अहिलेपनि कैलालीदेखि दाङ सम्मका २ हजार ३ सय ७५ परिवार मुक्तकमैया पुनःस्थापनाबाट बञ्चित छन् ।

सरकारले कमैयाहरुलाई २०५७ साल सावन २ गते मुक्त घोषणा गरेको थियो । मुक्तकमैया महिला विकास मञ्चका संस्थापक अध्यक्ष कौशिला चौधरीका अनुसार कैलालीमा ९५३ परिवार पुनःस्थापनाबाट बञ्चित रहेको जानकारी दिईन् ।

कैलाली जिल्लामा ८ हजार ९ सय ७५ परिवार मुक्तकममैया भएका थिए । ८ हजार २२ परिवार जग्गा पाए । ४ सय परिवार सटटा भर्ना भए र परिचय पत्र बदर भएका १७३ परिवार छन् । यस्तै जग्गा नपाएका शुद्ध मुक्तकमैया ३८० परिवार रहेको उनी बताईन् ।

त्यसै गरि कञ्चनपुर जिल्लामा ४ हजार ४१८ परिवार मुक्तकमैया भएपनि ४ हजार २८९ परिवारले जग्गा पाएको चौधरी बताईन् । उनका अनुसार सटटा भर्ना १२९ परिवार रहेका छन् ।

बर्दिया जिल्लामा ११ हजार ५५१  मुक्तकमैया थिए । जहाँ १० हजार ३०६ परिवार जग्गा पाएका छन् भने ८४ परिवार सटटा भर्ना, ८३ परिवार जग्गा नपाएको तथ्यांक छ ।

यस्तै बाँके जिल्लामा १९ सय २१  थिए जहाँ सबै जना पुनःस्थापना भएका छन् ।
त्यसैगरि दाङ जिल्लामा ७ सय ५ परिवार मध्ये ६५७ परिवार जग्गा पाएका थिए । ४८ परिवार सटटा भर्ना गर्न बाँकी छन् ।
कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरि जम्मा २७ हजार ५ सय ७० परिवार कमैया मुक्ति भएका थिए । २५ हजार १ सय ९५ परिवार जग्गा पाईसकेका छन् ।

दिवसको अवसरमा चार पालिकाले दियो विदा

२३औं मुक्तकमैया दिवसको अवसरमा कैलालीको चार पालिकाले आज (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
टीकापुर नगरपालिकाको नगर कार्यपालिकाको असार ३१ गतेका दिन बसेको बैठकले सो निर्णय गरेको हो ।

निर्णयमा कमैया मुक्त भएको दिनलाई सम्झनाको लागि साउन २ गते सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रमुख रामलाल चौधरीले जानकारी दिए ।

यस्तै जोशीपुर गाउँपालिक, जानकी गाउँपालिका र भजनी नगरपालिकाले पनि एक दिन विदा दिने निर्णय गरेको छ ।