सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार

कैलाली २६ असार । सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको छ ।

तीन दलले बजेट पारित गर्न नसकिने निर्णय गरेलगत्तै सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो । सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमति गरेको हो ।

‘मुख्यमन्त्री र मन्त्रीजहरुले अहिलेको बजेटको आकार नघटाएर बजेट संशोधन गरी उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।’ माओवादीका प्रमुख सचेतक मानबहादुर धामीका अनुसार खाका तयार पारेर छलफलका लागि फेरि बोलाउने कुरा छ ।

बजेटप्रति चर्को असन्तुष्टि जनाउँदै आएका सत्तारुढ माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेकपा एकीकृत समाजवादी पार्टीले संशोधन नभए यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेका छन् । यसअघि कांग्रेस समेतका सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले बजेट संशोधनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा आर्थिक वर्ष २०८०र८१ का लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए । बजेटप्रतिको असन्तुष्टिकै कारण त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।