आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्ष दलले नै असमर्थन गर्ने निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दललेनै असमर्थन जनाउने निर्णय गरेको छ ।
सोमबार बसेको तिन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो । सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासंग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ ।
नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ –‘जनताको आवश्यकता र औचित्य विपरित बजेट आएको छ । उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभुति भएको छ ।’
उनीहरुले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन् । भनिएको छ –‘जनता र जनताका जनप्रतिनिधिको भावना समेटेर प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन बजेट संशोधनको प्रक्रिया अगाडि बढ्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दछु ।’
उनीहरुले बजेट संशोधन र समझदारी नभएकोले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताए ।













