जोखिम मोलेर डुङ्गाबाट वारपार
धनगढी, २० असार । कटान समस्या झेलिरहेका शिवरत्नपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नु पर्ने बाध्यता छ । कैलारी गाउँपालिका–३ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको सो गाउँ ओहरदोहार गर्न नदीमा बाढी आए डुङ्गासमेत बन्द भई बाटो नै बन्द हुने गरेको छ ।
आइतबार बाढी आउँदा छ घण्टा नदी किनारमा पर्खेर गन्तव्यतर्फ आएको हसुलियाका स्थानीय कुलराज चौधरीले बताए । “कामले त्यहाँ गएको थिएँ,” उनले भने,“बाढी आएपछि डुङ्गा नै चलेन । छ घण्टा रोकिएँ ।”
हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा परीक्षा दिन गएका आफ्नो गाउँका विद्यार्थीको परीक्षा पनि छुटेको उनले बताए । “डुङ्गा नचलेपछि उनीहरू विद्यालय जान सकेनन्,” उनले भने, “अघिल्लो दिन छुटेको परीक्षा विद्यार्थीले दोस्रो दिन मात्रै दिए ।”
समस्या माथि समस्या झेल्दै आएका गाउँलेहरु मोहना नदीले कटान गर्न थालेपछि चिन्तित भएका छन् । सो नदीमा आएको बाढीले गत वर्ष दिएको पीडा भुल्न नपाउँदै यस वर्ष फेरि कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।
लाई गत वर्ष बाढीले तहस नहस पारेको थियो । नदीमा आएको बाढी बस्ती पसेपछि १६ घर परिवारको उठीवास भएको छ । उनीहरू जङ्गल क्षेत्रमा बस्दै आएका छन् ।
गत वर्ष अत्यधिक जग्गा जमिन नदीले कटान गरेको पीडा बिर्सन नसकिरहेको बेला यस वर्ष फेरि कटान हुँदा पीडामाथि पीडा थपिएको मानबहादुर चौधरीले बताए । “यो वर्ष तीन पटक मात्रै सानो बाढी आएको छ,” उनले अगाडि थपे, “तर सानो बाढीले पनि धमाधम जमिन कटान गरिरहेको छ ।”
ठुलो बाढी आएपछि त झनै के हुने हो रु क्षतिको कल्पनै गर्न सकिन्न । स्थानीय अगुवा चौधरीका अनुसार एक साता आएको बाढीले गाउँतर्फको करिब तीन मिटरसम्म जमिन कटान गरिसकेको छ । एक किलोमिटर दुरीमा कटान हुने सम्भावना बढेको छ ।
गत वर्ष यस नदीले किसानको खेत, सामुदायिक वन क्षेत्र गरेर २०/२१ बिघा जमिन कटान गरेको थियो । नदीले वारि कटान गरेको खेत पारितिर बालुवा बगरमा परिणत भएको छ । यसै गरी निर्माणाधीन झोलुङ्गे पुलको पिल्लरसमेत नदीले बगाएको छ । पुलको पिल्लर बगेपछि त्यहाँ झोलुङ्गे पुल निर्माण कार्य पनि अनिश्चित बनेको छ । स्थानीयवासीसहित विद्यार्थी डुङ्गामा ओहोरदोहोर गर्न बाध्य छन् । नदीले धेरै दुःख दिएको भन्दै स्थानीयले उक्त समस्या समाधान र बस्ती जोगाउन ‘स्लोपिङ ड्याम’ बनाउन माग गरेका छन् ।
कटान समस्या समाधानका लागि गत वर्ष सो ठाउँमा तटबन्ध गरिएको थियो तर सुरक्षाका लागि बनाइएको तटबन्ध टिकाउ हुन सकेन । तटबन्ध बनेको तीन दिनमै बाढीले बगाएको थियो । कैलारी गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले ठुलो लगानी गरेर मात्रै समस्या समाधान गर्न सकिने बताए ।













