२३ प्रतिशत महिलाले भोग्छन् शारीरिक हिंसा

काठमाडौं, ९ असार । नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा भोग्ने गरेको एक सर्वेक्षणले देखाएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले १५ वर्षको उमेरदेखि नै महिलाले कुनै न कुनै रुपमा हिंसा भोग्ने गरेको देखाएको छ। सर्वेक्षणअनुसार, विवाह नगरेको र यौन साथी नभएको महिलाको तुलनामा विवाहित महिलाले बढी शारीरिक हिंसा भोग्ने गरेको पाइएको छ। २६ प्रतिशत विवाहित महिलाले कुनै पनि समयमा शारीरिक हिंसा भोगेका देखिएको छ।

त्यस्तै, ८ प्रतिशत महिलाले कुनै पनि समयमा यौन हिंसा भोगेका पाइएको छ। सम्बन्ध विच्छेद भएका, छुट्टिएका वा एकल महिलामध्ये ४७ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसा भोगेको बताएका छन् भने २७ प्रतिशत महिलाले आफ्नो यौन साथीबाट हिंसा भोगको रिपोर्टमा उल्लेख छ।

घरपरिवारमा पानी र सरसफाई, प्रजनन क्षमता, परिवार नियोजन, मातृ मृत्युदर तथा नवजात शिशुको हेरचाह, शिशु र बाल मृत्यु, पोषण, अपांगता, महिला सशक्तिकरण, घरेलु हिंसा, रक्तचाप, दुर्घटना र चोटपटक, मानसिक स्वास्थ्य लगायतका विषयमा सर्वेक्षण गरिएको थियो। यूएसआइडीको प्राविधिक सहयोगमा तयार गरिएको यो सर्वेक्षण स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले शुक्रबार सार्वजानिक गरेको हो।

प्रतिवेदनले ६ महीनाभन्दा कम उमेरका शिशुलाई पूर्ण स्तनपान संख्या घट्दै गएको देखाएको छ। सन् १९९६ मा ६ महीनाभन्दा कम उमेरका शिशुलाई पूर्ण स्तनपान गराउनेको सङ्ख्या ७५ प्रतिशत भएकोमा सन् २०२२ मा ५६ प्रतिशतमा झरेको छ।

यस्तै, पाँच वर्ष मुनिको बाल मृत्युदर पनि घटेको देखिएको छ। सन् १९९६ मा ५ वर्ष मुनिका प्रति हजारमा जीवित जन्ममा ११८ मृत्यु हुने गरेकोमा हाल प्रति हजार जीवित जन्मिमा ३३ को मृत्यु हुने गरेको पाइएको छ। हजार जीवित नवजात शिशुमा २१ को मृत्यु हुने गरेको देखिएको छ।

प्रतिवेदनले १५ वर्षभन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप भएको देखाएको छ। सर्वेक्षणका अनुसार, प्रति एक लाख व्यक्तिमध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ। जसमध्ये सबैभन्दा बढी ६८ प्रतिशत सडक दुर्घटना मोटरसाइकलको कारणले हुने गरेको छ।

सर्वेक्षणमा १३ हजार ७८६ घरधुरी समेटिएको थियो। जसमध्ये छनोटमा परेका १४ हजार ८४५ महिला र चार हजार ९१३ पुरुषलाई अन्तर्वार्तामा समावेश गराइएको थियो।