सहारा बिहीनहरुकोलागि ‘साहारा घर’
कैलाली, ३२ जेठ । तराईको उखरमाउलो गर्मी, साधारण व्यक्तिलाई गर्मी छल्न चिसो ठाउँको खोजी भईरहेको बेला सडक मानबहरुकोलागि रुखको फेद निकै प्यारो छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित ‘सहारा घर’ एक छेउमा ठूलो रुख छ । जहाँ रुखको फेदमा सिमेन्ट गरिएको चौटारा छ, भने माथि खरले छाएको छ । सोही चौटारा यहाँका मानबकोलागि प्रेमपुर्वक बासस्थान बनेको छ ।
कैलालीको तापक्रम ४० डिग्री भन्दा माथि पुगिसकेको बेला सहारा घरमा बसोबास गर्दै आएकाहरुलाई त्यो गर्मीले छुदैन । उहाँहरु रुखको छाहरीमा जता जतै पल्टिएका हुन्छन् । न त पंखा त, न त राम्रो ओछ्याउने । यहाँ बस्नेहरु कोही कसैसंग मतलब छैन । सबै अ आफ्नै सुर हुन्छन् ।
कोही गित गाउँदै डुलेका हुन्छन्, भाषण गर्दै । घामले तातिएको सिमेन्त माथि कोही मस्त निन्द्रमा सुतेका हुन्छन् ।
सहारा घरका सञ्चालक बलबहादुर विष्टपनि त्यहि रुखको फेद मुनि बसेर सडकमा भेटिएका असहाय मानसिक रोगीहरूसंग भलाकुसारी गर्दै दिनचार्य विताउँछन् । यहाँ ओट लाग्ने छहारी मात्रै होईन । प्रेमपुर्ण, उपचारसंगै नयाँ परिचय समेत पाइन्छ ।

गाउँदेखि अलिक पर जहाँ नदीले छोडेको एक ढिस्को छ । चुरे फेदीमा रहेको धार्मिक पर्यटक वनको पूर्वी कुनामा अवस्थित ढिस्को सहारा बिहीनकोलागि नयाँ संसारकोरुपमा सावित हुन्छ । चारकोठे पक्की सहित जस्ताले छाएको टहरो छ। वरपरि चार कठ्ठा फराकिलो जमीनमा तारबारले घेरिएको छ।
मानसिक स्वास्थ्य समस्या भएकालाई सहारा दिने घर फुलै फुलको बगैचापनि छ । जहाँ कसैले घाँस काट्छन्, कसैले नाच्छन् पनि । सहारा घरमा अहिले ८५ जनाले आश्रय पाइरहेका छन्। जसमध्ये ४३ जना पुरुष, २५ महिला र १७ बालबालिका छन्।
बर्दगोरिया गाउँपालिका स्थित बौनियाका ४० वर्षिया बलबहादुर विष्टले सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले २०७२ सालदेखि विधिबद्धरुपले सहारा घर सञ्चालन गर्दै आएका हुन् ।
उनी भन्छन् ‘कुनै बेला म पनि यस्तै समस्याबाट गुज्रिएको एक पात्र हुँ । त्यसैले सडकमा भौतारिरहेका बेसहाराहरुलाई नयाँ परिचय दिन पाउँदा निकै खुशी छु ।’ उनी अहिलेसम्म ३३५ जनालाई सन्चो बनाएर उनीहरुको परिवारसंग पुर्नमिलन गराईसकेको बताउँछन् । १५ जना अहिलेपनि सञ्चो भईसकेको र उहाँहरुको परिवार पत्ता लगाउने कार्य भईरहेको बताए ।
बलबहादुर सडक मानबहरुको सेवा गर्न पाउँदा आफु खुशी छन् तर जतिबेला आश्रय लिएकाहरु विरामी पर्छन् त्यो बेला निराश हुने गरेको बताए । ‘उहाँहरुलाई सरसफाईको बारेमा केही जानकारी हुदैन, फोहर टिपेर खाई दिन्छन् । विरामी पर्छन्, चोटपटक लाग्छ र कुनै बेला देहत्याग गर्दा कानुनी झन्झटिलो व्यहोर्नुपर्छ अनि निकै निराश हुन्छु ।’
तर जब उहाँहरुलाई खाना खुवाएर सुताउँछु, त्यतिबेला धेरै आन्नद महशुस गर्छु । उनीहरुको जीवनमा खुशी आएको देख्दा म सन्तुष्ट हुन्छु, विष्टले भने ।
उनका अनुसार कैलालीको बजारलाईपनि सुन्दर बनाइदिएको बताउँछन् । अहिले सडकमा फोहोर टिप्दै गरेको मान्छे भेटिन्दैनन् । बजारमा नांगै डुल्ने मान्छे भेटिन्दैनन् । त्यस्तो व्यक्तिलाई सहारा घरले उद्धार गरेको छ । जसले गर्दा उनी खुशी छन् ।

उनी भन्छन् ‘यो काम सरकारको हो । सरकारले सुदूरपश्चिममा १५÷२० श्यैयाको मानसिक रोग उपचार अस्पताल स्थापना गर्नुपर्छ । यहि अस्पतालबाट परिवार र विरामीलाई परामर्श, दिन सके नीजि संस्था खोलिराख्नु पर्ने जरुरी नै छैन ।’ तर सरकारले मानसिक रोग उपचार केन्द्रमा न्यून लगानी देखिन्छ ।
सरकारले चिन्न थाल्यो सहारा घरलाई
विभिन्न दाताबाट चलेको सहारा घरलाई सुदूरपश्चिम प्रदेश सरकारले खासै देखे जस्तो गरिएन । स्थानीय सरकारबाट अलि अलि सहयोग पाएको सहारा घरलाई अहिले केन्द्रिय सरकारपनि चिन्न थालेको सञ्चालक विष्ट बताउँछन् ।
केही महिना अगाडी राष्ट्रिय योजना आयोगका संयोजक राम कुमार फुयाल र बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश गिरी सहारा घरको अवलोकन तथा अनुगमन गरेका थिए ।
उपाध्यक्ष गिरी भन्छन् ‘बर्दगोरिया गाउँपालिका सहारा घरको संरक्षक भएर बसेको छ । यसलाई व्यवस्थित गर्न केन्द्रीय सरकारसंग बजेट मागेका थियो, सरकारले डेढ करोड बजेट विनियोन गरिदिएको छ ।’
सहारा घरको लागि सुविधा सम्पन्न भवन निर्माणकोलागि उक्त बजेट विनियोज भएको उपाध्यक्ष गिरी बताउँछन् ।













