युवाको सहभागितामा विकास सम्भव छ : मन्त्री साउद

कैलाली २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउदले समाजको सकारात्मक विकासमा युवाहरुको भुमिका महत्वपूर्ण रहने बताए । प्रदेश युवा परिषदले बिहीवार धनगढीमा आयोजना गरेको सामाजिक विकास मन्त्रीसँग युवाहरुको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी युवाहरुको सवालको जफाव दिंदै मन्त्री साउदले समाजको सकारात्मक विकासका लागि आफु सधैं युवासँगै रहने प्रतिबद्धता जनाए । युवाहरुको शिक्षा, स्वास्थ्य, खेलकूद, रोजगारीलगायतका सबालको जफाव दिंदै मन्त्री साउदले आफुमा पनि केही गरेर देखाउने हुट्हुटी रहेकाले हाम्रो स्रोत र साधनले भ्याएसम्म युवाहरुका यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

कर्णलीमा पुल बनेपछि मात्रै काठमाडौंसँग सुदूरपश्चिम भौगोलिक हिसावले नजिक भएको स्मरण गर्दै उहाँले अब संघीयताले विकासको ढोका खोल्नुपर्ने बताए । तराई पहाड र हिमाल मिलेको सुदूरपश्चिम प्रदेश अभावमा अब नरहेर र सम्भावनाको खोजी गरेर जनतालाई उत्साहित बनाउने बताए ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, स्वरोजगार, युवा शसक्तिकरण, खेलकुद, हाम्रो भाषा संस्कृतिको संरक्षणलगायतका विषय सम्बोधन गरेकाले सोहीअनुसार बजेटको तयारीमा रहेको उनको भनाइ छ ।

सबै क्षेत्रको सहभागिताबिना सदियौंदेखि पछाडि पारिएको सुदूरपश्चिमको समृद्धि सम्भव नहुने मन्त्री साउदको भनाइ छ । युवालगायत सबैको साथ–समन्वय आवश्यक रहेको बताउँदै त्यसका लागि प्रदेश सरकारको सामाजिक मन्त्रालय अभिभावकको भूमिका निभाउन तयार रहेको बताए ।