सुदूरपश्चिम सरकारले बरघर प्रथालाई प्रवर्द्धन गर्ने

कैलाली, २४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको बरघर प्रथालाई प्रवर्द्धन र संरक्षण गर्ने भएको छ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले बरघर प्रथाको प्रवर्द्धन गरिने बताएका छन्। सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा थारु समुदायको बसोबास छ।

थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा प्रचलनमा छन्। जसलाई कानूनी मान्यता दिई संरक्षण र प्रवर्द्धन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने नीति ल्याएको छ। ऋण उपलब्ध गराउनको लागि सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने भएको छ। कोषमार्फत शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने जनाइएको छ।