गोदाबरीमा लागुऔषधमा संलग्न ७० जना पक्राउ

कैलाली, २२ जेठ । कैलालीको गोदावरीमा लागुऔषध सेवन, विक्रीवितरण र ओसारपसारमा संलग्न ७० जनालाई पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको १० महिनामा पाँच महिलासहित ७० जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अभिलेखअनुसार १७ किलो दुई सय ३१ ग्राम लागुऔषध (चरेश), ४६ ग्राम ७७२ मिलिग्राम लागुऔषध (खैरोहेरोइन) तथा ६७ ट्याबलेट लागुऔषध (नाइट्राभेट) सहित पाँच जना महिला र ६५ जना पुरुष पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले लागुऔषधको विकराल समस्या समाधान गर्न र लागुऔषधको ओसारपसार, विक्रीवितरण र सेवन रोक्न प्रदेशभर अभियान चलाउने बताएका छन्। लागुऔषध प्रयोगकर्ता युवाको संख्या अत्यधिक भएकाले तिनीहरूमा सुधार ल्याउन धनगढी उपमहानगरपालिकासँग मिलेर सुधार केन्द्र सञ्चालनमा ल्याइने डिआइजी बोहराले बताए।