खप्तड सम्मेलनले प्रदेशको नीति तथा कार्यक्रम ल्याउने काममा प्रभावित

धनगढी, २१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम अझै प्रदेश सभामा ल्याउन सकेको छैन । यद्यपि बजेटको अन्तिम तयारीमा जुटेको प्रदेश सरकारको दाबी छ ।

असार १ गते प्रदेश सरकारको वार्षिक बजेट ल्याउनुपर्ने हुन्छ । तर अहिलेसम्म प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम नै पेस नभएका कारण आगामी आर्थिक वर्षको बजेट कस्तो आउँछ भन्नेमा अन्योल छ ।

नीति तथा कार्यक्रमको तयारीमा जुटेका प्रदेश सरकार अहिले प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा केन्द्रित भएको देखिन्छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना तथा प्रदेश सरकारकै सहयोगमा जेठ २३ देखि २५ गतेसम्म पर्यटकीय स्थल खप्तडमा आयोजना हुन गईरहेको छ ।

सो सम्मेलनको तयारीका लागि सांसदहरु व्यस्त हुँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने काम प्रभावित बनेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको भन्दै गहन छलफल गर्नुपर्ने विषयलाई बेवास्ता गरिएको आरोप समेत लगाए । एमाले नेता धर्मराज पाठकले सरकारको गति सुस्त रहेको साथै सरकारले समयमा कुनै पनि कार्य गर्न नसकिरहेको आरोप लगाए ।

पाठकले भने, ‘सरकारले नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । असार १ गते बजेट कार्यक्रम पेस हुन्छ । नीति तथा कार्यक्रम जति ढिलो सभामा पेस भयो, त्यति नै सभामा हुने छलफलका लागि समय कम हुन्छ ।’

सरकारले पूर्णता नपाउनु, विषयगत समितिमा सभापति चयन गर्न नसक्नुलगायतले पनि सरकार कुन गतिले अघि बढेको छ भन्ने स्पष्ट देखिएको पाठकको भनाई छ ।

उता सत्ता पक्षका सांसदले सरकारको बचाउ गर्दै आएका छन् । नेपाली कांग्रेसका सांसद प्रकाश बमले प्रदेश सरकारको नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको बताए । जेठ २५ गतेभित्र प्रदेश सभामा प्रस्तुत हुने अपेक्षा लिएको बमले बताए ।
उनले भने ‘मुख्यमन्त्रीको कार्यालयमा नीति तथा कार्यक्रम तयार भइरहेको छ । आज (आइतबार) हामी सदनमा बस्छौँ, अनि छलफल गरेर सोही अनुरुप २५ गतेभित्रमा सभामा पेस हुनेछ ।’

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले समय अभाव तथा ब्यस्तताले नीति तथा कार्यक्रम प्रस्तुतमा ढिलाइ भएको बताए । तर नीति तथा कार्यक्रमको तयारी पूरा भएको र बजेट निर्माणको तयारी पनि सँगसँगै चलिरहेको बताए ।

विगतका वर्षभन्दा यो वर्ष बजेटका आकारमा संकुचन हुने देखिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०७८/२०७९ मा ३० अर्ब ३३ करोड ९५ लाखको बजेट ल्याएको थियो ।

विगतको तुलनामा आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटको आकार घटेर आउने आकलन गरिएको छ । मुलुकमा विद्यमान मौद्रिक तरलता अभावका कारण बजेटको आकार घटाउनुपर्ने बाध्यता देखिएको हो । लक्ष्य अनुसारको राजस्व संकलनमा समेत भारी गिरावट आएको छ ।