रानाथारु समुदायको जनसंख्या ०.२९ प्रतिशत, तथ्यांक सहि नभएको आरोप

धनगढी, २० जेठ । जनगणनाले नेपालमा रानाथारु समुदायको जनसङ्ख्या ८३ हजार ३०८ (कुल जनसङ्ख्याको ०.२९ प्रतिशत) रहेको देखाएको छ । जनगणनामा केही तलमाथि हुनु स्वभाविक रहे पनि रानाथारु समुदायको जनसङ्ख्याको तथ्याङ्क विश्वास गर्न नसकिने आएको नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले बताए ।

आदिवासी जनजाति रानाथारु समुदायका अगुवाले जनगणनामा आफ्नो समुदायको यकिन तथ्याङ्क नसमेटिएको आरोप लगाएका छन् । दुई जिल्लामा दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको दाबी गर्दैआएका यो समुदायका अगुवाहरु २०७८ को जनगणना तथ्याङ्क सार्वजनिक भएपछि अचम्म भएका हुन् ।

“भाषिक रुपमा रानाथारुको जनसङ्ख्या आउनु ठिक हो, यकिन तथ्याङ्क नआउनु चाहिँ बेठिक हो ।” सार्वजनिक भएको तथ्याङ्कप्रति नेपाल रानाथारु समाजले आपत्ति जनाएको छ ।

नेपालमा कैलाली, कञ्चनपुर गरी दुई जिल्लामा मात्रै रानाथारु समुदायको बसोबास छ ।