आज देशभर अत्यधिक गर्मी हुने, तराइका विभिन्न स्थानमा लु चल्ने

काठमाडौं, २० जेठ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको जनाएको छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता रहन महाशाखाले अनुरोध गरेको छ।