गर्मी बढ्‍यो : बिहीबार १३ स्थानमा अधिकतम तापक्रम ४० डिग्री नाघ्यो

काठमाडौँ, १९ जेठ । केही दिनयता देशका विभिन्न स्थानहरूमा तापक्रम तिब्र गतिले वृद्धि हुँदै गएको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीबार देशका धेरै स्थानहरूमा तापक्रमले तातो, धेरै तातो तथा अत्याधिक तातो दिनको सीमा तह पार गरेको विभागले जनाएको छ । बिहीबार देशका १० वटा मापन केन्द्रमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरेको थियो ।

३ दिनयता सबैभन्दा बढी अधिकतम तापक्रम रौतहटको गौरमा मापन गरिएको छ । गौरमा गत मंगलबार ४१.३ डिग्री, बुधबार ४२.३ डिग्री र बिहीबार ४३.३ डिग्री मापन गरिएको थियो । मंगलबार २ वटा मापन केन्द्रमा तापक्रमको ४० डिग्री सेल्सियस नाघेको मापन गरेको थियो । बुधबार ५ वटा स्थान र बिहीबार १३ वटा स्थानमा तापक्रम ४० डिग्री नाघेको विभागले जनाएको छ । बिहीबार मात्रै देशका विभिन्न २८ स्थानमा ३५ डिग्रीदेखि ३९ डिग्री तापक्रम मापन भएको थियो ।

विराटनगर र वीरगन्जमा पनि न्यूनतम तापक्रम २८ डिग्री पुगेको छ । बिहीबार विरानटगरको न्यूनतम तापक्रम २८ डिग्री सेल्सियस थियो । बुधबार वीरगन्जमा २८.५ डिग्री सेल्सियस न्यनूतम तापक्रम मापन गरिएको थियो । विभागका अनुसार गत मंगलबार बर्दियामा पनि धेरै न्यूनतम तापक्रम थियो । उक्त दिन २७.७ डिग्री मापन गरिएको थियो ।

जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले पछिल्लो तीन दिनमा तराई क्षेत्रमा अत्यधिक गर्मी बढेको बताइन् । ुतराई क्षेत्रमा ४ दिनमा गर्मी निकै बढिरहेको छ । बुधबार र बिहीबार झनै गर्मी बढेको थियो । केही समयमै पानी नपरेमा गर्मी अझै बढ्ने देखिन्छ,ु कँडेलले भनिन् ।

तापक्रम बढ्दै जाँदा स्वास्थ्यमा समस्या हुन सक्ने भन्दै विभागतले सतर्कता अपनाउन आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखा पर्छन् ।

यस्तै, बढी गर्मीको समयमा घरभित्र चिसो स्थानमा बस्न, पानी तथा झोल पदार्थ पिउन, चिसो पानीले नुहाउने तथा स्वास्थ्यकर्मीहरूको सुझाव लिन सकिने विभागले आग्रह गरेको छ ।