सेनिटरी प्याड आयतमा भन्सार दर १.५ बाट ५ प्रतिशत पुर्याइयो
कैलाली, १८ जेठ । महिलाले प्रयोग गर्नैपर्ने सेनिटरी प्याडमा सरकारले कर बढाएको छ । सेनिटरी प्याड आयातमा भन्सार दर ५ प्रतिशत पुर्याइएको हो ।
राजस्व बढाउनका लागि करका नयाँ आयाम खोज्नुको साटो सरकारले आमनागरिकको जीवनमा अत्यावश्यक वस्तु तथा सेवामा भन्सार दर र कर बढाउदै लगेको छ । अन्य स्रोतबाट धेरै कर संकलन गरी अत्यावश्यक वस्तु तथा सेवामा छुट दिनुपर्ने हो र तर कल्याणकारी राज्यको नीतिविपरीत सरकारले उल्लिखित वस्तुमा पनि करका दर बढाएर नागरिकको ढाड सेक्ने काम गरेको सरोकारवालाहरूले बताउछन् ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० करोड ७९ लाख २६ हजार रुपैयाँ बराबरको ३ करोड ८१ लाख ६ हजार १ सय ४१ वटा प्याड निर्यात भएको विभागको तथ्यांक छ । जबकि गत आर्थिक वर्ष ३ करोड ५१ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ३० हजार २ सय ६४ वटा प्याड निर्यात भएको थियो ।
सरकारले तयारी प्याड आयातमा भन्सार बढाए स्वदेशी उद्योगलाई फाइदा नहुने सेनिटरी प्याड उत्पादक संघका अध्यक्ष विश्व थापाले बताए । ‘आयातमा भन्सार बढाएर सरकारलाई नै राजस्व बढ्ने हो, उत्पादकले अहिले पनि कच्चा पदार्थ आयातमा कुल ८ प्रतिशत भन्सार तिर्दै आएका छन् ।’













