बेहडाबाबा धाममा गंगादशहरा मेला, पाँच लाख दर्शनार्थीको जमघट हुने अनुमान
केलाली, १६ जेठ । कैलालीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको रुपमा विकसीत भएको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो।
धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने गर्दछ ।
यसैबीच, बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, आगन्तुक एंव धार्मिक पर्यटकहरुलाई लक्षित गरी शतर्कता बढाएको छ । समितिका अध्यक्ष पदमराज जोशीले मन्दिर तथा मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वंयसेवक परिचालन गरिएको बताए ।
मेलामा खानेपानीको व्यवस्था गरिनुको साथै शौचालय, बस व्यवसायीहरुको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सञ्चालन समेत गरिएको छ । मेलामा ६ सय बढी विभिन्न किसिमका व्यापारिक स्टल र बच्चाहरुकोलागि झुलालगायत राखिएका छन् । यस वर्ष करिब ५ लाख बढी दर्शनार्थी तथा आगन्तुकको जमघट हुने समितिको अनुमान छ ।
बेहडाबाबाको विशेषता ?
बेहडा बाबा मन्दिर सुुदूरपश्चिमको मात्रै नभई मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ । जहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत मनोकांक्षा बोकेर तीर्थालुहरु आउने गरेको स्थानीय बताउँछन् ।

यहाँका बुद्धिजीवीहरुका अनुसार मन्दिर भएको स्थान घना जंगल थियो । परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरियो । रामपुर गाउँस्थित जंगलकिनारमा रहेको मन्दिरमा शिवलिंग परिवर्तनशील देखिएको छ ।
सो क्षेत्रमा उहिले भारतीयहरुको दवदवा थियो । त्यस ठाउँमा बाक्लो वनजंगल भएका कारण त्यहाँ मानिसहरुको बसोबास थिएन । पछि मन्दिर बनेपछि नजिकैका आदिबासीहरु बस्दै आए। भारतीयहरु यहाँ घुम्न आएका बेला सो शिवलिंग फेला पारेका थिए । उनीहरुले शिवलिंगमा डोरीले बाँधेर कैयौंपटक उखेल्न प्रयास गरेको बताइन्छ ।
शिवलिंग उखेल्न नसक्दा फलामको घनले हिर्काएको बताइन्छ। घनले हिर्काएको छाप अहिले पनि शिवलिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । शिवलिंग लान नसकिएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।
मन्दिर परिसरमै महादेवा नामको एउटा ठूलो तलाउछ । तलाउमा स्नानगरी दर्शनार्थीहरु शिवजीको पूजा गर्दछन् । हालै धार्मिक पर्यटन विकासको लागि सो तालमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपाल बोट एण्ड अम्युज्मन्ट् प्रालिले ६ बोट सञ्चालनमा ल्याएको हो । मोटरबोट सञ्चालनपछि पर्यटकको संख्या बढ्ने समितिका अध्यक्ष जोशीले बताए ।
पछिल्लो समय सो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रसंग जोडिएर हेर्न थालिएको छ । धनगढी उपमहानगरपालिकाले मन्दिरको गुरुयोजना बनाएर संरचना निर्माण थालेको छ ।













