रेशम चौधरी रिहा भए
काठमाडौं, १५ जेठ । टिकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी आममाफी पाएर रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रेशम डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
उनलाई आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको टीकापुर घटनाको योजनाकारको रूपमा तीनै तहका अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ४८२ जनाको बाँकी कैद मिनाहा र चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
संवधानमा आफ्नो हक अधिकार सुनिश्चित गर्नुपर्ने माग सहित थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा २०७२ भदौं ७ गते टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएम लगायत थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भएके थियो ।













