स्वास्थ्य शिविरबाट महिला लाभान्वित

कैलाली, १४ जेठ । कैलालीको चुरे गाउँपालिका वडा ६ सिम्ताकी ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने मौका पाउँदा खुसी छिन् । सुगम मानिने कैलालीको दुर्गम पालिका चुरे ६ कै बयालास्थित मेलकट्टेश्वरमा शनिबार भएको स्वास्थ्य शिविर सञ्चालन हुँदा उनी आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गर्न आएका थिईन् ।

“मेरो ढाडको समस्या छ, उठ्न बस्न हुँदैन, त्यसैले बिहान ६ बजे घरबाट बुहारीले दुई घण्टा बोकेर ल्याएर उपचार गराइन्” उनले भनिन् । एक घण्टा जति गाडी चढेर स्वास्थ्य क्याम्पमा पुगेका उनी निःशुल्क उपचार हुँदा खुशी भएको बताईन् ।

कार्कीले मात्र होइन, ८० वर्षका चक्रबहादुर बोहराले पनि निद्रा नलाग्ने, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने समस्या सुनाएपछि डाक्टरले औषधि दिएको र क्षयरोगको पनि परीक्षण गरेको बताए ।

स्वास्थ्य शिविरमा घण्टौँ हिँडेर समेत विभिन्न रोगका २५० बिमारीहरूले उपचार गराए । गाउँका अधिकांश पुरुषहरू रोजगारीमा भारत र तेस्रो मुलुकमा रहेकाले महिला, बालबालिका र बृद्धबृद्धा उपचारकालागि स्वास्थ्य शिविरमा आएको आयोजकले जानकारी दिए ।

स्वास्थ्य शिविरमा खटिएका चिकित्सक विष्णुप्रसाद जैशीले स्त्री रोग, दम, पेट, टाउको, हाडजोर्नीसम्वन्धी समस्या भएका धेरै बिमारीहरू शिविरमा आएको बताए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सङ्गीता बस्नेतका अनुसार महिलामा तल्लो पेट, पाठेघर, पिसाबको सङ्क्रमणसम्बन्धी समस्या अधिकांश महिलामा देसखएको थियो ।

आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालद्वारा शिविर सञ्चालन भएको हो । शिविरमा बालरोग विशेषज्ञ डा. नेहा रेग्मी, हाडजोर्नी विशेषज्ञ डा. मनोज भट्ट र नाक, कान, घाँटी विशेषज्ञ राघव सेढाइले बिमारीको चेकजाँच गरेका थिए ।