कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा

कैलाली, १४ जेठ । कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरूले याम्पसमा तालाबन्दी गर्दै सामूहिक राजीनामा बुझाएका छन् । क्याम्पसका विभागीय प्रमुखहरू शुक्रबार सामूहिक राजीना दिएर आन्दोलनमा उत्रिएका हुन् ।

सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समझदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ । कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको थियो ।

विश्वविद्यालयले समायोजन हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनु परेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा थुप्रै सम्झौता भएको थियो । २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्कटेक्चरल इन्जिनियरिङ, २०८० मा कम्प्युटर विज्ञान र २०८१ बाट सिभिल इन्जिनियरिङको अध्यापन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने भनिएको थियो । तर, अहिले आएर समायोजनकै काम पनि पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको प्रध्यापक संघका सभापति सापकोटाले बताए ।