रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयले फिर्ता पठायो

काठमाडौं, १२ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई माफी मिनाह दिने फाइल राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ।

चौधरीलाई माफी मिनाहको फाइल राष्ट्रपति कार्यालयले शुक्रबार गृह मन्त्रालयमा फिर्ता पठाएको हो। राष्ट्रपति कार्यालयका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार प्रचलित कानून बमोजिम र अदालतबाट स्थापित नजिर प्रतिकूल नहुने गरी निर्णय गर्नु भन्दै सरकारको प्रस्ताव आजै फिर्ता पठाइएको हो।

चौधरीलाई टीकापुर घटनामा जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठह¥याउँदै जन्मकैदको सजाय सुनाएको थियो। कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।

त्यस घटनामा चौधरीसहित २० जनालाई सर्वोच्चले पनि दोषी ठह¥याएको थियो। दुई जनालाई भने सर्वोच्चले सफाई दिएको थियो।

चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयबाट सजाय माफी दिएर छुटाउने सरकारको योजना छ।

त्यही योजनाअनुसार, गृह मन्त्रालयले केही दिनअघि चौधरीको फाइल राष्ट्रपतिको कार्यालयमा पठाएको थियो। हिमालखबरबाट ।