कैलारी गापाप्रति कांग्रेस कार्यकर्ताको असन्तुष्टि, नाराबाजीसहित कार्यालय घेराउ

धनगढी, ११ जेठ । नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकाले आफ्नो कार्यकर्ता सन्तुष्ट पार्न नसकेको भन्दै आज नाराबाजीसहित कार्यालय घेराउ गरेको थियो ।

कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले पालिका नेतृत्व गर्ने जनप्रतिधिहरु कमिसनको खेलमा व्यस्त भएको आरोप लगाउदै कार्यालय घेराउ गरेका हुन् ।

बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको वडा नं। २ का जनक खनालले बताए । उनले निर्बाचन सम्पन्न भएके एक वर्ष पुगिसक्दा समेत गाउँमा कुनै किसिमको विकास नभएको बताउँदै पालिकाले किसानको समस्याप्रतिपनि व्यवास्ता गरेको आरोप लगाए ।

उनका अनुसार किसानले मल खाद पाएका छैनन् । जनताको हकमा कुनैपनि काम भएको छैन । सीमानाकामा ५ केजी चिनी ल्याउनेलाई भन्सार पुगाईन्छ तर जो ट्याक्टरका ट्याक्टर सामान ल्याउछ उनीहरुलाई छुट छ । यसको विरुधमा हामी पालिका घेराउ गर्न आएका हौं ।

पालिकामा केही छिन् तनाब उत्पन्न भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन भएक थिए ।

यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल भएको थियो ।