दश महीनामा एक खर्ब ४० अर्ब ऋण थपियो

काठमाडौं, ८ जेठ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब नाघेको छ भने पछिल्लो १० महीनामा मात्रै एक खर्ब ४० अर्ब थपिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाखसम्म १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण छ।

चालु आर्थिक वर्ष २०७९र८० शुरू हुँदा अर्थात् गत वर्ष असारसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो। चालु आर्थिक वर्षको पछिल्लो १० महीनामा मात्र एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख बराबर ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड छ। यसलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४.४० प्रतिशत बराबर देखिएको छ। जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महीनामा मात्र सरकारले दुई खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको छ भने एक खर्ब ४३ अर्ब ४२ करोड दुई लाख बराबर साँवा ब्याज तिरेको छ।

वैशाखसम्म सरकारले गरेको पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करीब १८ अर्बले बढी हो। वैशाखसम्म सरकारको पूँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड बराबर छ।

यसरी एकातर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ।

चालु आर्थिक वर्षको १० महीनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा एक खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ३२ अर्ब ९९ करोड ६२ खर्चिएको छ। आन्तरिकतर्फको साँवा रकम ६३ अर्ब ४७ करोड ४४ लाख, ब्याज ४६ अर्ब ८५ करोड तीन लाख र कमिसन रकम १० करोड ११ लाख बराबर रहेको छ।

त्यस्तै, बाह्य ऋणतर्फ साँवा भुक्तानीमा २५ अर्ब ९४ करोड ४८ लाख र ब्याज भुक्तानीमा सात अर्ब पाँच करोड १४ लाख बराबर खर्च भएको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म सरकारले उठाएको आन्तरिक ऋण एक खर्ब ५९ अर्ब ५० करोड र बाह्य ऋण ७० अर्ब ७४ करोड बराबर रहेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ बराबर छ। कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार ८६० बराबर पर्न जान्छ। (रासस)