मितेरी बर्थिङ सेन्टर : सुत्केरी महिलाको जिवन रक्षा
जुम्ला, ५ जेठ । नेप्लिज नर्सिङ एशोसियसन युकेको आर्थिक सहयोगमा निर्माण गरिएको मितेरी बर्थिङ सेन्टर जुम्लाका सुत्केरी महिलाकोलागि जिवन रक्षाको रुपमा सावित भएको हुनेछ ।
एक्सन वर्क्स नेपालले जुम्लाको सिंजा गाउँपालिका वडा नं. ६ दाँतमा निर्माण गरेको ‘मितेरी बर्थिङ सेन्टर’ गाउँपालिकालाई हस्तान्तरण कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । एक्सन वर्क्स नेपालका अध्यक्ष सम्झना पौडेलले गाउँपालिकाका उपाध्यक्ष सितली रोकायालाई बर्थिङ सेन्टर हस्तान्तरण गर्दै भनिन् संस्थाले बर्थिङ सेन्टर स्थापनाका लागि पुलको काम मात्रै गरेको हो । यसलाई पालनपोषण सिंजा गाउँपालिकाले गर्नेछ ।
गाउँपालिका उपाध्यक्ष रोकायाले बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाहरुको ज्यान जोगिने बताए । उनले यहाँको समस्या पहिचान गरि बर्थिङ सेन्टर निर्माण पश्चात महिलाहरुको जीवन रक्षामा टेवा पुग्ने बताईन् ।
बर्थिङ सेन्टरका अनमी सारदा रोकायका अनुसार २०७५ सालमा स्थापना भएको बर्थिङ सेन्टरबाट हालसम्म ८५ जना महिलाहरुले सेवा लिएका छन् । बर्थिङ सेन्टर स्थापना भएसँगै घरमा सुत्केरी हुने चलन हराएको र बर्थिङ सेन्टरमै महिलाहरु आउने गरेको उनको भनाइ छ ।













