सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, आजै सपथको तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले सयुक्त पत्रकार सम्मेलनगरि सत्ता गठबन्धनबीच भागबण्डा मिलेको जानकारी दिए ।

मुख्यमन्त्री शाहले आज नै मन्त्रिपरिषद विस्तारको तयारी गरेको जानकारी दिएका हुन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले बताए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक÷एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको हो ।

माओवादीले टुंग्यायो मन्त्रीको नाम

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए । उनका अनुसार गीता माललाई राज्यमन्त्रीको तयारी भइरहेको छ ।

धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने उनले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहालसँगको परामर्शपछि प्रदेशमा नाम टुंगो लगाइएको हो ।

दलहरुबीच भागबण्डा टुंगिएपछि मुख्यमन्त्री शाहले आजै सरकार विस्तारको तयारी थालेका छन् । शुक्रबार प्रदेश सरकारको एक सय दिन पुगेको अवसर पारेर शाहले सरकारलाई पूर्णता दिने तयारी गरेको जानकारी दिए ।

त्यसैगरि नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर उन्मुक्तिले भुमि व्यवस्था तथा कृषि मन्त्रलाय मात्र पाउने भएपछि अब कसलाई सरकारमा पठाउने भन्ने विषयमा टुंगो लागेको छैन । नाउपाका सांसद लक्ष्मण किशोर चौधरीका अनुसार हामी दलको बैठक बस्दैछौं केही समयमै नाम टुंगो लाग्ने छ ।