बातचित घरको तेस्रो श्रृखलामा ४० जना यूवाले गरे रक्तदान

कैलाली ३० बैशाख । विशेष गरि थारु समुदायमा देखिएको सिकलसेल एनिमियाको विरामीहरुलाई रगतको अभाव नहोस् भनि थारु समुदायका ४० जना यूवाहरु आज रक्तदान गरेका छन् ।

हालै स्थापित भएको बातचित घरको तेस्रो श्रृखलामा हमार फाउण्डेसनको आर्थिक सहयोगमा थारु विद्यार्थी समाज, रेडक्रस सोसाइटीको सहकार्य र समन्वयमा रक्तदान कार्यक्रम भएको हो ।

‘रक्तदान जिवन दान हो’ भन्ने मुलमन्त्र सहित आयोजना गरिएको कार्यक्रममा ५ जना महिला र ३५ जना पुरुष गरि ४० जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा बातचित घरका बरघरिया ठाकुर प्रसाद करियाप्रधानले रक्तदान भन्दा ठूलो दान अरु केही नरहेकोले आफ्नो अमुल्य रगत दान गरि जोखिममा परेकाहरुलाई जीवन दान गरिदिन अनुरोध गरेका थिए । उनले रक्तदान गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरे ।

यस्तै बातचित घरको तेस्रो श्रृखलामा डाक्टर सुमन चौधरीद्धारा सिकलसेल रोग सम्बन्धि स्वास्थ्यमा जनचासोका विषयमा अन्तक्रियात्मक छलफल भएको थियो ।

हाल सम्म सिकलसेलका विरामी मध्ये ९७.२ प्रतिशत विरामी थारु समुदायकै रहेकोले यो रोगलाई समयमै सहज उपचारकोलागि सबैले आफ्नो परिक्षण गरि रोग पहिचान गर्न जरुरी रहेको डा. सुमनले बताए ।

उनले सिकल सेल विरामीहरुलाई समय समयमा रगतको आवश्यता आईपर्ने भएकोले आजको रक्तदान कार्यक्रम एकदमै विशेष रहेको महशुस गरे ।

यहि अवसरमा १०१औं पटक रक्तदान गरि जोखिममा परेकालाई जीवन दान गरौं भन्ने अभियानलाई सहयोग गर्ने दिपक प्रसाद उपाध्ययको उच्च मुल्यांकन गरि बातचित घरले उनलाई सम्मान गरेको छ । बातचित घरले उपाध्ययले गर्दै आएको सेवा अझै निरन्तर चलिरहोस् भनि कामना समेत गरेको छ ।

सम्मान पत्र ग्रहण गर्दै उपाध्ययले आफ्नो जीवनमा केही गर्न नकेपनि अप्थ्यारोमा परेकालाई एक प्वान्ट रगत दिएर सहयोग गर्नु नै सबै भन्दा पुण्य काम रहेको बताए । उनले सामाजमा देखिएका भ्रमलाई चिर्दै भने ‘रगत दिन मिल्लनेहरु हरेक ३/३ महिनामा रगत दान गर्नु, आफै स्वस्थ्य भइन्छ । रगत दिएपछि शरिर कम्जोर होईन, रोगबाट लड्न सक्ने क्षमता बढ्छ । त्यसै जति सक्छौं रगत दान गरोैं ।’

कार्यक्रममा बातचित घरका पदाधिकारी, थारु विद्यार्थी, अधिवक्ता, थारु बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।