महिलाको ईतिहास झल्किने फोटो पुस्तक विमोचन
धनगढी, २९ बैशाख । विभिन्न आन्दोलनको क्रममा महिलाको योगदानलाई १६ फोटो एल्बम मार्फत ईतिहास रच्न प्रयास गरिएको छ ।
महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था लुम नेपालले प्रकाशन गरेको सो पुस्तकको शुक्रबार सुदूरपश्चिम प्रदेशकी उप–सभामुख कोइली देवी चौधरीले एक कार्यक्रमका बिच विमोचन गरेकी हुन् ।
विमोचन कार्यक्रममा महिला अधिकारकर्मी बसन्ती चौधरीले १६ फोटो एल्बममा कमैया आन्दोलन र थरुहट आन्दोलनको क्रममा महिलाहरुको योगदान कस्तो रह्यो भन्ने ईतिहास झल्काइएको जानकारी दिईन् ।
उनका अनुसार विकास र परिवर्तनकोलागि हुने जुन सुकै गतिविधिमा महिलाको ठूलो योगदान रहन्छ तर इतिहासमा पुरुषहरुको मात्रै योगदान रहेको देखिन्छ । १६ फोटो एल्बमले आन्दोलनमा होमिएको महिलाको ईतिहासलाई रच्न शुरुवाट गरेकोमा खुशी व्यक्त गरिन् ।
यस्तै अधिकारकर्मी सुशिला चौधरीले थारु आन्दोलनमा आफू जस्तै थारु महिलाहरूको भूमिकालाई ऐतिहासिक दस्ताबेजका रूपमा सुरक्षित गर्ने काम गरेको भन्दै उनले लुम नेपाललाई धन्यवाद दिइन् ।
थारु मात्र होइन देशका सबै महिला अझै पनि पछाडि छन् । उनले भनिन्,‘ ‘नेपालका हरेक आन्दोलनमा महिलाहरू प्रयोग हुने तर इतिहास पुरुषको मात्रै बन्ने अभ्यासका बिच महिला सशक्तीकरणमा लुम नेपालले थालेको अभियान ऐतिहासिक छ ।
यस्तै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उप सभामुख कोलीदेवी चौधरीले महिलाको ईतिहास कोर्ना शुरुवाट गर्ने संस्थालाई धन्यबाद दिईन् । अरूले यसको सिको गर्न अनुरोध समेत गरिन् । यती मात्र होइन कुनै पनि वर्ग, समुदायमा विभाजित नभई अधिकारका लागी महिलाहरू एकताका साथ अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो ।’
सन २०१६ देखि महिला अधिकारका क्षेत्रमा काम गरी पहिचान बनाएका महिला अधिकारकर्मीहरूको इतिहासको अभिलेखीकरण गर्ने काम सुरु गरेको लुम नेपालकी उपाध्यक्ष पुष्पा जोशीले बताइन् ।
‘सन २०१९ देखि थारु आन्दोलनमा सक्रिय बनि योगदान दिएका १५ देखि २० जना सम्मको इतिहास अभिलेखीकरण गर्दै आएका छौ । सोही अनुरूप हामीले फोटो पुस्तक निर्माण गरेका हौ,’ उनले भनिन् ।













