मातृ भाषा जोगाउन एकीकृत योजना आवश्यक

काठमाडौं, २९ बैशाख । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सबै नागरिकको मातृ भाषा जोगाउन एकीकृत योजना आवश्यक रहेको बताए । उनले मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको पनि जानकारी दिए ।

पाँचथरको सदरमुकाम फिदिममा आयोजित मातृ भाषाको संरक्षणमा सरोकारवालाको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै राईले नेपालमा बसोबास गर्ने सबै जातजातिका मातृ भाषालाई आर्थिक आर्जनसँग जोड्नु आवश्यक रहेको बताए ।

‘उनका अनुसार स्थानीय भाषा साहित्य र संस्कृतिलाई पर्यटनसँग जोड्न सके संरक्षणसँगै मातृभाषीको जन जीविकामा टेवा पुग्छ। जसका लागि तीन तहका सरकारले कार्य योजना बन्न जरुरी छ ।

प्रज्ञा प्रतिष्ठानले मुलुकका सबै जातजातिले बोल्ने मातृ भाषा जोगाउन सरोकारवालासँग विमर्श गरेर एकीकृत योजना बनाउने तयारी गरिरहेको राईले जानकारी दिए ।

कार्यक्रममा लेखक खगेन्द्र सङ्ग्रौलाले सरकारले कामकाजी भाषाका रूपमा नेपाली, अङ्ग्रेजी र स्थानीय भाषालाई अनिवार्य गर्नसके मातृ भाषा संरक्षणमा टेवा पुग्ने बताए ।

यसका लागि प्रत्येक कार्यालयले स्थानीय स्तरमा बाहुल्यता रहेका समुदायले बोल्ने स्थानीय भाषासहित अङ्ग्रेजी र नेपाली भाषालाई प्रयोगमा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।