‘काठमाडौंका मिडियाले मोफसलका मुद्दा बुझ्दैनन्’

देशको राजधानी काठमाडौंबाट सञ्चालित मिडियाले बाँकी नेपालका मुद्दा बुझ्न नसकेको एक कार्यक्रमका वक्ताहरूले औल्याएका छन्।

जति वेला काठमाडौंका मूलधारका भनिने मिडिया बाजुराको स्याउ बजारमा पुग्यो भनेर समाचार लेखेका थिए, त्यति वेला धनगढीमा रहेर पत्रकारिता गरिरहेका दीर्घराज उपाध्यायले भने बेग्लै दृश्य देखे। “बाजुराका मानिसका लागि चामलको भात महत्त्वको विषय बनिरहेकफ थियो, जुन काठमाडौंका मिडियाका लागि समस्या नै थिएन,” उपाध्यायले भने।

हिमाल मिडिया मेला २०२३ को पहिलो दिनको ‘देशभरिको समाचार’ शीर्षकमा आयोजित बहसमा बोल्दै उपाध्यायले काठमाडौंका मिडियाको दृष्टिकोणप्रति रोष प्रकट गरे। राष्ट्रिय भनिने काठमाडौंका मिडियाले मोफसलका मिडियाको अस्तित्व स्विकार्न नसकेको उनको भनाइ थियो।

“देशभरि मिडियाको संख्या हेर्दा काठमाडौं उपत्यकाभन्दा मोफसलमा बढी छ, तर स्थानीय मिडियाले काम गर्न सक्छन् र गरेका छन् भन्ने काठमाडौंका मिडियाले स्विकार्दैनन्,” उपाध्यायले भने।

त्यस्तै, दाङमा रहेर लामो समय पत्रकारिताका गरेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले गाउँको समाचारलाई जति स्थानीय मिडियाले उठाउन र त्यो समाचारप्रति जति स्थानीयले अपनत्व लिन्छन्, त्यति राष्ट्रिय मिडियामा आएका समाचारमा समुदायले अपनत्व नलिने गरेको सुनाए। स्थानीय मिडियाले केन्द्रका राजनीतिक घटनाक्रमभन्दा स्थानीय मुद्दालाई स्थान दिनुपर्ने उनको भनाइ थियो।

“स्थानीय मिडियामा काम गर्ने पत्रकारमा पनि ‘फलोअप’ गर्ने अभ्यास देखिंदैन। जुन राष्ट्रिय मिडियाले गर्छन् र त्यसको प्रभाव पर्छ,” पोखरेलले भने।

त्यस्तै, पत्रकार मन्टेश्वरी राजभण्डारीले रिपोर्टरले आफ्नो विषयवस्तु सम्पादकसँग स्पष्ट राख्न नसक्दा पनि मोफसलका मिडियाले राष्ट्रिय तहको जस्तो प्रभावकारी बनाउन नसकेको बताइन्। जसका लागि स्थानीय पत्रकारको पनि क्षमता अभिवृद्धि हुन आवश्यक रहेको उनको बुझाइ थियो। “त्यसको परिणाम स्थानीय मिडियाले रासस लगायत अन्य समाचार संस्थाबाट समाचार लिएर प्रकाशन र प्रसारण गरिरहेका छन्,” उनले भनिन्।

अन्तरक्रियामा सहभागी वक्ताले स्थानीय मिडियाले पनि आफ्नो क्षमताको अभिवृद्धि गर्दै जानुपर्ने बताए। यससँगै प्रदेश र स्थानीय सरकारले पनि सघाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

देश संघीयतामा गएसँगै मिडियालाई पनि त्यही अनुसार अघि बढाउनुपर्ने उनीहरूले औंल्याए। “संघीयता देशलाई आयो, तर मिडियालाई अझै आएको छैन। अधिकार र बजेटका हिसाबले पनि संघबाट आएको बजेट प्रदेशबाट संघकै मिडियालाई गइरहेको छ,” उपाध्यायले भने।

मेलाको उद्घाटन समारोहमा भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सञ्चार प्रविधिको अभूतपूर्व विकास भइरहेको यो समयमा पत्रकारिताले पनि अभूतपूर्व चुनौती भोगिरहेको बताएका थिए। वरदराजनले भने, “यो मिडियाका लागि अभूतपूर्व चुनौती र त्रासको समय हो।”

पहिलो दिन ‘बदलिंदो भूराजनीतिबीच मिडियाको उपस्थिति’ विषयमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र हिमालका प्रकाशक कनकमणि दीक्षितसँग हिमाल साउथएशियाका सम्पादक रोमन गौतमले संवाद गरेका थिए।

भारतको बुम तथ्यजाँच तथा इन्डिया स्पेन्‍ड सम्बद्ध पत्रकार गोविन्दराज इथिराजले डेटा जर्नालिज्मबारे आफ्नो प्रस्तुति राखेका थिए। इथिराजले नागरिकलाई सही सूचना दिएर सुस्पष्ट विचार निर्माण गर्न तथ्याङ्कमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए।

त्यस्तै, ‘मिथ्या सूचना, तथ्य समाचार’ विषयमा नेपाल चेकका सम्पादक दीपक अधिकारी, अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलसँग पत्रकार सजनाले बरालले संवाद गरेकी थिइन्।

पहिलो दिनको अन्तिम सत्र ‘सबैलाई समेट्ने समाचारकक्ष’ विषयमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, आमसञ्चारविद् यमबहादुर दुरा र नागरिक दैनिकमा आबद्ध पत्रकार पवित्रा सुनारसँग पत्रकार शोभा शर्माले संवाद गरेकी थिइन्। हिमालखबरबाट ।