‘मिडियाले अभूतपूर्व चुनौती र त्रास सामना गरिरहेछ’
काठमाडौं, २० बैशाख । सञ्चारप्रविधिको अभूतपूर्व विकास भइरहेको यो समयमा पत्रकारिताले पनि अभूतपूर्व चुनौती भोगिरहेको भारतका चर्चित पत्रकार एवं द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले बताएका छन्।
काठमाडौंमा शरू भएको हिमाल मिडिया मेला २०२३ मा मुख्य मन्तव्य राख्दै वरदराजनले भने, “यो मिडियाका लागि अभूतपूर्व चुनौती र त्रासको समय हो।”
उनका अनुसार अहिले मिडियाले मुख्यतः आर्थिक संकट, हतारो र नियन्त्रणजस्ता चुनौती सामना गर्नुपरिरहेको छ। “विज्ञापनका स्रोत साँघुरिएका छन्, मिडियाले आम्दानी गुमाइरहेछ,” वरदराजनले भने, “यो आर्थिक चुनौतीलाई मिडियाले कसरी सामना गर्छ भन्ने नै मिडियाको स्वतन्त्रताको लागि मुख्य प्रश्न बनिरहेछ।”
मिडियाको स्वतन्त्रताका लागि पाठक र दर्शकको सहयोग आवश्यक हुनेसमेत उनको भनाइ थियो। “सरकारी स्रोत, ठूला कम्पनीको विज्ञापनमा आधारित नभई पाठक, दर्शक, नागरिक समाज लगायतको सहयोगमा आधारित भयो भने मात्रै मिडिया स्वतन्त्र हुनसक्छ,” उनले भने।

साथै वरदराजनले जिम्मेवारीपूर्ण पत्रकारिता नै मिडियाले गर्नुपर्ने आत्मसमीक्षा भएको उल्लेख गरे। डिजिटल प्रविधिको विकासले हतारोको समय सिर्जना गरेको उनको ठम्याई थियो। “हतारोको यो समयमा तुरून्तै समाचार प्रवाह गर्नुपर्ने बाध्यताबाट जोगिन मिडियालाई गाह्रो भइरहेको छ,” वरदराजनको सल्लाह थियो, “त्यो हतारोलाई थेगेर तथ्य जाँच, पुनः जाँचका लागि धैर्य गर्नसक्ने सञ्चारमाध्यम नै विश्वसनीय र दिगो हुनेछन्।”
भारतजस्ता देशमा बढ्दै गइरहेको विभिन्न तहका अवरोध र नियन्त्रण मिडियाले अहिले भोग्नुपरेको अर्को चुनौती रहेको उनको विश्लेषण थियो। “आजको भारतमा पत्रकारहरू पक्राउ पर्नु सामान्य भइरहेको छ। घोषित संकटकाल छैन, तर त्यो भन्दा फरक छैन,” उनले भने।
एआईजस्ता प्रविधिले पत्रकारितालाई सहज बनाए पनि तिनको जिम्मेवारपूर्वक उपयोगले मात्र मिडियाको विश्वसनीयता बढाउने उनको भनाइ थियो। भारतको गुजरातमा भएको दंगाबारे बीबीसीले बनाएको डकुमेन्ट्रीलाई ट्वीटरमा पोस्ट गर्नसमेत भारतीय सरकारले रोक लगाएको सन्दर्भ उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा समेत सरकारबाट भइरहेको नियन्त्रण वर्तमान मिडियाले सामना गर्नुपरेको अर्को चुनौती भएको बताए।
“पत्रकार भएका हिसाबले हामीले उपयोग गरिरहेको स्वतन्त्रता विश्वसनीयतामा अडिएको छ,” वरदराजनले भने, “स्वतन्त्र मिडिया कुण्ठित हुँदा र खुला समाज नहुँदा लोकतन्त्र खतरामा पर्छ।”
साथै उनले समाजको विविधता उजागर गर्न मिडियाको न्यूजरूम पनि विविधतापूर्ण हुनुपर्ने विचार राखे। “विविधतापूर्ण न्यूजरूमले मात्र समाजको विविधता पस्किन सक्छ,” वरदराजनले भने। हिमालखबरबाट ।













