मुक्ति घोषणा भएको २३ वर्षसम्मपनि पुनःस्थापना नहुँदा फेरि ब्यूझियो कमैया आन्दोलन

कैलाली, १५ बैशाख । सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । भने, २०७० असार १३ गत कमलरीको मुक्तिको घोषणा गरेको थियो । मुक्ति घोषणा भएको २३ वर्षसम्मपनि पुनःस्थापना नहुदा कमैया आन्दोलन फेरी ब्यूझिएको छ । सुदूरपश्चिममा अझै हजारौं मुक्तकमैया पुनस्र्थापना हुन बाँकी रहे पनि सरकारले वेवास्ता गरेको भन्दै मुक्तकमैयाहरु पुनः आन्दोलनको यात्रा तय गरेका हुन् ।

कैलाली र कञ्चनपुर जिल्लास्थित मुक्तकमैयाहरुले बिहीबारदेखि न्यायिक पुनस्र्थापनाको लागि अधिकार यात्रा सुरु गरेका हुन् । कैलाली कञ्चनपुरमा एक साथ विभिन्न कार्यक्रम गरी आन्दोलनको कार्यक्रम सुरु गरेका छन् ।कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुर मुक्तकमैया शिविरबाट अधिकार यात्रा सुरु गरिएको छ । अधिकार यात्राको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद तथा पूर्व आर्थिक मामिलामन्त्री प्रकाश रावलले गरेका थिए ।

कैलालीको टीकापुर नगरपालिकाबाट सुरु गरिएको अधिकार यात्रा टीकापुर नपा १ का वडाध्यक्ष मोहन बिकले उद्घाटन गरेका थिए । त्यस्तै, जानकी गाउँपालिका पुगेको यात्रापछि आयोजित कोणसभालाई गाउँपालिका अध्यक्ष गणेश चौधरीले सम्बोधन गरेका थिए ।

अधिकार यात्राको क्रममा प्रत्येक मुक्तकमैया शिविर हुँदै अगाडि बढेको आयोजक मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले जानकारी दिए । कञ्चनपुरको अधिकार यात्राका यात्रीहरु दैजी छेला मुक्तकमैया शिविरमा बास बसेका छन् कैलालीका अधिकार यात्राका यात्रीहरु बर्दगोरिमा बास बसेको अध्यक्ष चौधरीले बताए ।

सरकारको तथ्यांकमा कञ्चनपुरमा एक जना पनि नछुटेको देखिए पनि कैलालीमा ३८० जनाले जग्गा प्राप्त गर्न नसकेको देखिएको बताए । तर समाजको तथ्यांक अनुसार कैलालीमा ९५३ र कञ्चनपुरका १२९ जना गरी १ हजार ८२ जना मुक्तकमैयाको पुनस्र्थापना हुन बाँकी छ ।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५०८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १५८ जनाले परिचय पत्र पाएका थिए । मुक्त कम्लहरी मञ्चले अझै सुदूरपश्चिममा १ हजार ७३५ छुटेका छन् ।