मजदुरको कथा : जब बिरामी पर्छन्, परिवार भोकै हुन्छन्

काठमाडौं, ५ बैशाख । एकाबिहानै सिटी बज्छ । हल्ला हुन्छ– फोहोर आयो, फोहोर आयो, फोहोर आयो ।
वास्तवमा त्यहाँ फोहोर आएको होइन, सफाइ गर्ने हातहरू पुगेका हुन् । तिनै हातहरू जसले समस्यासँग जुध्दै सहर सफा राखिरहेका छन् ।

घरैपिच्छे जम्मा पारेका फोहोर बटुल्छन् । गाडीमा राख्छन् । बाटोमा छरिएका कागजका टुक्रासमेत टिप्छन् । उनी आएपछि एकैछिनमा टोल, घर र गल्ली सफा हुन्छ । कामको प्रकृति हेर्ने हो भने उनलाई फोहोर होइन, सफाइ आयो भन्नुपर्ने हो । तर, मान्छेले फोहोर आयो भनेरै सम्बोधन गर्छन् । शंखमूल टोलमा फोहोर उठाउने बानेश्वर सरसफाइ व्यवस्थापन संस्थामा आबद्ध राम (नाम परिवर्तन) भन्छन्, ‘हामी सफा गर्ने मान्छे हौं, नामचाहिँ फोहोरी रे ।’ सबैले फोहोर कर्मचारी भनेकाले होला उनले आफ्नो नाम नलेख्न आग्रह गरे ।

उनको एक दशक उमेर फोहोर उठाउनमै बित्यो । अझै कति वर्ष फोहोरमै बित्ने हो, उनलाई यकिन छैन । नवलपरासी घर बताउने उनको जीवन धान्ने मुख्य आधार फोहोर हो । फोहोर उठाउने काम नहुँदो हो त उनी यतिबेला भारततिर हुन्थे । उनले फोहोरमा सुन्दर सपना खोज्न थालेका छन् । उनी २० वर्षको उमेरमा क्याम्पस पढ्न काठमाडौं आए । घरमा ७० नाघेका बाबुआमा छन् । उनी एक्लो छोरा । छिट्टै कमाउने हुनैपर्ने बाध्यता थियो । क्याम्पस पढ्ने कि पेट पाल्ने ? दुविधामा रहँदै उनले क्याम्पस छोडे र रोजगारी खोज्न थाले । सुरुका एक वर्ष प्राइभेट कम्पनीमा सरसफाइ गर्ने जागिर खाए । दिनभरि काम गर्‍यो, महिनामा ८ हजार आउँथ्यो । कोठा भाडा तिर्ने कि खाने ? उता आमाबुबाका लागि पनि उनको दायित्व थियो । टोलका फोहोर संकलनको काम गरिरहेका एक जना व्यक्तिसँग सम्पर्कमा आए । उनले पनि सँगै काम थाले । फोहोर उठाउँदा लाज लाग्ने भए पनि त्यसमा मासिक १० हजार आउने थियो, वैकल्पिक जागिरको अरू उपाय पनि अगाडि थिएन ।

रुमालले मुख छोपेर लुकीलुकी फोहोर संकलनको काम गर्न थाले । उनी अहिले २० हजार तलब पाउँछन् । योभन्दा पनि बढी फोहोर बेचेर कमाउँछन् । ‘तलब खासै छैन, फाइदा भने फोहोर बेचेरै हुन्छ,’ उनी भन्छन्, ‘म के काम गर्छु, धेरैलाई थाहा दिएको छैन ।’

बाहिरबाट हेर्दा त्यो केवल फोहोर हो तर, त्यसको संसार बेग्लै छ । जहाँ दुर्गन्ध निस्कन्छ धेरैका लागि । त्यहाँ कतिपयले पैसाको सुगन्ध महसुस गरेका छन् । कतिपयले त्यही फोहोरबाट भविष्य खोजिरहेका छन् । भारतीय नागरिक दिनेश कौरीले नेपालमा फोहोर उठाउने काम गरेको दुई दशक भयो । घरभरिका फोहोर जम्मा गरेर एउटा थलोमा राख्छन् । घण्टौं लगाएर फोहोर छुट्याउँछन् । कहिलेकाहीँ फोहोरको पोकाबाट बहुमूल्य चीज भेटिन्छ पनि । एक दिन भने फोहोरको पोकाबाट दिनेशको हातमा पहेंलो सिक्री आयो । उनले धेरै पटक हातमा खेलाइरहे । सुनकै हो भन्ने लाग्यो । ‘हेर्दा पहेंलो देखिन्थ्यो,’ उनी भन्छन्, ‘साथीलाई विश्वास नलागेर देखाएँ ।’ सबै पहेंलो चीज सुन हुने भए के दुःख हुन्थ्यो र ? दिनेशले साथीबाट यस्तै जवाफ पाएको सम्झन्छन् । त्यो सुन थिएन । तर, फलामका टुक्रा भेटिए भने दिनेशका लागि सुन बराबर हुन्छ । फलाम कबाडखानामा बिक्री गर्न सकिन्छ । आम्दानीको मुख्य स्रोत नै यिनै कबाडखाना हुन् । उनी भन्छन्, ‘फलाम, बोतल, कबाडी बेचेर महिनाको कमाइ २० हजार नाघ्छ ।’

बानेश्वर महिला सेवा संस्थाका लागि काम गर्छन् धादिङका ३२ वर्षीय मीनबहादुर श्रेष्ठ । साताको एक दिन बिदा पाइन्छ । तर, उनी कहिल्यै बिदा बस्दैनन् । एक दिन बिदा बस्यो भने उनलाई अर्को दिन ओभरलोड काम गर्नुपर्छ । फोहोरको डंगुर थुिप्रन्छ । ‘एक दिनको बिदाले अर्को दिनभरि व्यस्त बनाउँछ,’ उनी भन्छन्, ‘म कहिल्यै बिदा बस्दिनँ ।’ दुई छोरीको पालनपोषण सबै फोहोर संकलनको रोजगारीले धानेको छ । सुरुमा भारी बोके । होटलमा काम गरे । कतै चित्त बुझेन । ‘अन्तिममा फोहोर उठाएर जीवन धानेको छु । विदेश जानु पर्दैन । महिनाको ५० देखि ६० हजार रुपैयाँसम्म कमाउन सकिन्छ । फोहोरमा पैसा छ । गर्न सक्ने हो भने,’ उनी भन्छन्, ‘नत्र १७ हजार तलबले परिवार पाल्न कहाँ सजिलो छ ।’ फोहोर उठाएर बाँकी रहेको समय उनी भारी बोक्छन् । सुकिलो र चिटिक्क परेको लुगा लगाउनु भनेको उनका लागि चाडपर्वजस्तै आक्कलझुक्कल हो । धूलो, मैलो र फोहोरमा रुमलिँदा स्वास्थ्यमा समेत असर पर्ने गरेको उनको अनुभव छ । ‘धूलो र मैलोले रुघाखोकी लाग्छ । जीउ गन्हाउँछ,’ उनी भन्छन् ।

ललितपुर महानगरपालिकाका चन्द्रु ताम्राकारको जीवन कथा फोहोरसँगै गाँसिएको छ । रोजगारीका लागि धेरैतिर भौंतारिएपछि उनी फोहोर संकलनको पेसामा आइपुगेका हुन् । पाटनमा चिया पसल खोलेर व्यवसायी बन्ने सपना थियो । बंगलामुखी मन्दिर नजिकै केही महिना चिया पसल चलाए । उनी भन्छन्, ‘चिया बेचेर घर खर्च धान्न सकिएन ।’ त्यसपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया पुगे । कन्स्ट्रक्सन साइटमा मजदुरी गरे । कमाइ ठीकै थियो तर ज्यानले साथ दिएन । रक्तचाप र मधुमेहपीडित भएर फर्किए । अहिले उनी दैनिक बिहानको दुई–तीन घण्टा फोहोर उठाउँछन् । दिउँसो तरकारी व्यापार गर्छन् ।

काठमाडौं उपत्यकाका विभिन्न कुनामा फोहोर संकलन गरिरहेको भेटिनेहरूका व्यक्तिपिच्छे कहानी फरक छन् । चितवनदेखि काठमाडौं आएका ४० वर्षीय हरि जीसीको ६ जनाको परिवार फोहोर संकलनको रोजगारीले धानेको छ । दुई छोरी स्टाफ नर्स पढ्दै छन् । बाबुले गर्ने कामको कुरा चल्दा हिजोआज छोराछोरी लाज मान्ने गरेको उनले बुझेका छन् । तर, हरि भने आफ्नो कामको सम्मान गर्छन् । फोहोर उठाउनु रहर होइन । ज्यान पाल्न हरिले काठमाडौं सहरमा धेरै ठक्कर खाए । बिहे गरेर आफ्नै उमेरकी पत्नीसहित काठमाडौं छिर्दा उनी १८ वर्षका थिए । पढाइ न सीप । स्वयम्भूको एउटा गलैंचा कारखानामा धागो कात्ने काम पाए ।

दिनरात खटिँदा पनि थोरै आम्दानी थियो । परिवार बढेर ६ भए । आम्दानीले खर्च धानेन । उनी फोहोर संकलन गर्ने संस्थाको सम्पर्कमा आए । उनले फोहोर उठाउन थालेको १० वर्ष बित्यो । उनले अरू पेसामा जाने सोचेका छैनन् । ‘फोहोरमा पैसा छ, त्यतिकै जोखिम पनि छ,’ उनी भन्छन् । सुरु–सुरुका दिन फोहोरका पोका खोतल्दा धेरै पटक सिसा र फलामका टुक्रा हातमा रोपिएको अनुभव गरे । ७ वर्षअघिको घटनाले अझै सम्झन्छन् । मध्यबानेश्वर मार्गमा फोहोर उठाउँदा प्लास्टिकमा राखिएको फुटेको सिसा हत्केलामा गड्यो । रगताम्य भयो । सँगै अरू दुई साथी थिए ।

‘एउटा भाइले आफ्नै सर्ट च्यातेर मेरो हात बाँधिदिएका थिए,’ उनले सुनाए । घाउ निको हुन्जेल झन्डै एक महिना बेरोजगार बस्नु थियो । त्यो घटनापछि अलि जोगिएर काम गर्छन् । ‘मलाई बिरामी हुने सुविधा छैन,’ उनी भन्छन्, ‘जोखिममा जोगिएर काम गर्छु ।’ उनीसँग खुसीको घटना पनि छ । फोहोरभित्र कहिलेकाहीँ सुन पनि भेटिन्छ । तीन वर्षअघि तरकारीको फोहोरको पोकोमा उनले एक पटक आधा तोला सुनको औंठी फेला पारेका थिए । औंठी बेचेर ऋण तिरेको उनी सम्झन्छन् ।

फोहोरमैला व्यवस्थापनमा राजधानीमा ३८ कम्पनीले काम गरिरहेका छन् । फोहोरमैला व्यवस्थापन संघमा आबद्ध ७८ मध्ये ३८ वटा कम्पनी सक्रिय छन् । जसमा ३ हजार जना कर्मचारीले प्रत्यक्ष रोजगार पाएका छन् । उपत्यकाको ९० प्रतिशत फोहोर उठाउने यिनै कर्मचारीको काँधमा छ । सक्रिय कम्पनीमध्ये ५र६ वटा मात्रै समाजिक सुरक्षा कोषमा आबद्ध छन् । त्यो पनि संघले साउन १ देखि सबै कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जोड दिइरहेको संघका महासचिव मित्रप्रसाद घिमिरे बताउँछन् ।

फोहोर उठाउने कर्मचारीको सेवासुविधा कम्पनीपिच्छे फरक छ । कतिपयले आन्तरिक कोषसमेत खोलेर कर्मचारीको आर्थिक विकासमा टेवा पुर्‍याएका छन् भने कतिपयले श्रमको ऐन पालना गरेका छैनन् । फोहोर उठाउने काम जोखिमपूर्ण कामदार गाडीबाट खसेर मृत्यु हुने, दुर्घटनामा पर्ने, सिसा, फलामले हातखुट्टामा चोट लाग्ने दुर्घटना भइरहन्छन् । अर्को असर भनेको स्वास्थ्यमा हो । फोहोरका कारण झाडापखाला लाग्ने, दमको समस्या निम्तिने आदि हुन्छ । ‘संघले बेलाबेला स्वास्थ्य परीक्षण कार्यक्रम गर्दै आएको छ,’ उनी भन्छन्, ‘धेरैलाई दमको समस्या देखा परेको छ ।’

फोहोर व्यवस्थापनमा गर्ने नेप्सेम्याक सेवा प्रालिका अध्यक्ष टीका दाहालले आफ्नो कम्पनीले कर्मचारीलाई राम्रो सुविधा दिएको दाबी गरे । श्रम ऐनअनुसार यातायात सुविधा, दुर्घटनादेखि स्वास्थ्य बिमाको समेत सेवा दिइएको उनले सुनाए । कम्पनी आफैंले कर्मचारीको पक्षमा आन्तरिक कोष स्थापना गरेको छ । सातामा एक दिन बिदा, ८ घण्टा श्रम अवधि तोकिएको र ओभरटाइमसमेतको व्यवस्था गरिएको उनले बताए । ‘कतिपय कम्पनीले श्रम शोषण गरेका छन्,’ उनी भन्छन्, ‘कर्मचारीले ऐनअनुसार तलबसमेत नपाएको देखेको छु । अनुगमन र कानुनी दायरामा ल्याउन जरुरी छ ।’

काठमाडौं महानगरपालिकामा ६ सय कर्मचारी फोहोर व्यवस्थापनमा छन् । उनीहरूको स्वास्थ्य बिमादेखि दुर्घटना बिमा सबै छ । त्यसमा पनि एक महिनाअघि मात्रै सबै कर्मचारीको सिभिल अस्पतालमा ‘होल बडी चेकअप’ गरिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले बताए । त्यस्तै कर्मचारीले उपचार गर्न चाहेमा पनि खर्चको सुविधा दिँदै आएको दाबी उनले गरे ।

ललितपुर महानगरपालिकाभित्र १ सय ७३ कर्मचारी फोहोर व्यवस्थापनमा सक्रिय छन् । उनीहरूको स्वास्थ्यमा ध्यान दिँदै महानगरले मास्क, पन्जा, बुट, म्यापलगायत सुरक्षा सामग्री दिन्छ । यद्यपि कर्मचारीको लापरबाहीले गर्दा मास्क नलगाई काम गर्नेसमेत देखिएको महानगरको फोहोरमैला व्यवस्थापन प्रमुख सुरेन्द्र अवालले बताए ।

‘स्वास्थ्य जाँच हुन्छ तर कतिपयले काम गर्न गाह्रो हुने भन्दै सुरक्षा सामग्री प्रयोग गर्न हिचकिचाउँछन्,’ उनी भन्छन् । उपत्यकाको सहरी क्षेत्रबाट दैनिक करिब १२ हजार टन फोहोर संकलन हुन्छ । संकलन गरेर छुट्याई फोहोर तह लगाउने जिम्मा सफाइ कर्मचारीले गर्छन् । कान्तिपुरबाट ।