कैलारीमा दूई सयजनाको सिकलसेल परिक्षण गर्दा १८ जना पोजेटिभ

कैलाली, ४ वैशाख । कैलारी गाउँपालिकामा दूई सय जनाले सिकलसेल एनिमिया परिक्षण गर्दा १८ जनामा पोजेटिभ देखिएको छ ।

कैलारी गाउँपालिका थारु बाहुल क्षेत्र हो । यहाँ करिब ९६ प्रतिशत थारु समुदायको बसोबास छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सिकलसेल रोगबाट थारु समुदाय बढी प्रभावित छन् ।

कैलारी गाउँपालिकाले सिकलसेल रोग पहिचानकोलागि बैशाख ३ देखि ६ गते सम्म निशुल्क शिविर संचालन गरेको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुुख नरेशकुमार चौधरीले पहिलो दिनको परिक्षणमा १८ जना पोजेटिभ देखिएको बताए । यस अघिपनि उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिकलसेल जाँच नियमित रहेको छ ।

सिकलसेलको उपचारमा ८८ जना विरामी कैलारी गाउँपालिकका रहेको स्वास्थ्य शाखाका विरेन्द्र सापकोटाले जानकारी दिए । सिकलसेल रोग पहिचान पश्चात सेताी प्रादेशीक अस्पतालले एक लाख बराबरको औषधी उपलब्ध गराउँदै आएको छ ।

सेती प्रादेशिक अस्पतालले यस अघि सिकलसेल जाँच निःशुल्क गर्दै आएको थियो । तर यस आर्थिक वर्षमा स्रोत कतैटी पश्चात परिक्षणमा एक हजार रुपैयाँ शुल्क तोकिएको छ । सिकलसेल जाँच महंगो भएपछि न्यून आर्थिक स्रोत भएकाहरुलाई परिक्षण गर्नमै समस्या देखिन्छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार सेती अस्पतालमा ८ सय ३६, घोडाघोडी अस्पतालमा ३ सय ६१, टिकापुर अस्पतालमा १ जना गरि कैलालीमा १ हजार १ सय ९८ जना विरामी छन् । यस्तै कञ्चनपुरको महाकाली अस्पतालमा ८ जना विरामी छन् ।