मिटरब्याज पीडितमाथि प्रहरीको धरपकड, १२ घाइते, ३५ जना पक्राउ
काठमाडौं, ४ बैशाष शान्तिपूर्ण आन्दोलनमा रहेका मिटरब्याज पीडितमाथि प्रहरीले धरपकड गरेको छ। केही घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तराई–मधेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडित दुई सातादेखि काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना दिइरहेका छन्। आज उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोजेका थिए।
उनीहरूलाई प्रहरीले शान्तिवाटिकाबाट निस्कन खोज्दा नै धरपकड गरेको हो। प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गरेको संघर्ष समितिका संयोजक अवदेश कुशवाहाले बताए।
“सिंहदरबार अगाडि शान्तिपूर्ण रुपमा मार्च गर्न जान खोज्दा प्रहरीले बल प्रयोग गर्यो। पानीको फोहोरा लगायो, जथाभावी लाठी चार्ज गर्यो,” संयोजक कुशवाहाले भने, “प्रहरीले कुटपिट गरेपछि कयौं घाइते भएका छन्।”
उनका अनुसार प्रहरीको धरपकडमा १२ जना घाइते भएका छन्। उनीहरूमध्ये एक जना गम्भीर घाइते भएको कुशवाहाले बताए।
त्यस्तै, शान्तिपूर्ण प्रदर्शनमा उत्रिका ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखेको छ। हिमालखबरबाट ।













