सेती प्रादेशिक अस्पतालमा निशुल्क उपचार सेवा स्थगित
कैलाली । सेती प्रादेशिक अस्पतालले बजेट अभावको कारण देखाई सामाजिक सेवा इकाइ मार्फत् विपन्न र लक्षित वर्गलाई दिने निःशुल्क उपचार सेवा स्थगित गरेको छ । अस्पतालले गत माघ १७ गतेदेखि विपन्नलाई निशुल्क उपचार सेवा स्थगित गरेको हो ।
सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको प्रादेशीक अस्पालमा निशुल्क सेवा स्थगित भएपछि विपन्न वर्गमा बिरामीलाई उपचार गराउन नै समस्या भएको बताउँछन्।
गरिब, विपन्न, ज्येष्ठ नागरिकलाई निशुल्क उपचार दिने सरकारी नीतिअनुरुप प्रदेश सरकार मातहतको सेती अस्पतालले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सहिदका परिवार, एकल महिला, प्रहरी नियन्त्रणमा रहेका व्यक्ति, प्राकृतिक प्रकोपमा घाइते भएका लगायत १२ वटा लक्षित समूहका नागरिकले निशुल्क उपचार सेवा लिईरहेका थिए ।
उनीहरुलाई परिचयपत्र तथा पालिकाको सिफारिसका आधारमा प्रयोगशाला परीक्षण र औषधी निशुल्क गरिएको थियो ।
अस्पतालले सेवा स्थगित गर्दा उपचारमा समस्या भएको धनगढी उपमहानगरपालिका–११, बेलाकी ७० वर्षीया भागा चुनाराले बताईन् ।
उनलाई दम र सुगरको बिरामी छ । उनीलाई समस्या बढेपछि अस्पताल जाँदा निशुल्क सेवा स्थगित भएको भन्दै सामाजिक इकाइले आफूलाई फर्काइदिएको गुनासो गरिन् ।
अस्पताल जाँदा चुनारासँग प्रयोगशाला जाँच गर्ने र औषधी किन्ने पैसा थिएन । ‘मसँग ४० रुपैयाँमात्र छ । यही पैसाले पर्ची काटेर डाक्टरलाई देखाउँछु । औषधी अर्को दिन किनेर लैजान्छु ।’
दम र सुगरको बिरामीलाई पहिला उपचार र औषधीका निशुल्क हुन्थ्यो । ज्येष्ठ नागरिकको कार्डका आधारमा उनी सामाजिक सेवा इकाइबाट पर्चा लिएर जाँदा निशुल्क उपचारको पैसा तिर्नुपर्दैनथियो ।
उनीजस्तै निशुल्क उपचार पाउने आशले सेती प्रादेशिक अस्पताल पुगेकी धनगढी उपमहानगरपालिका–१४, फुलबारीकी विपन्न सोनप्यारी चौधरीले परीक्षण र औषधीका लागि ११ हजार खर्च गरिन् । गत वर्ष शल्यक्रिया गरेको पाठेघरमा समस्या देखिएपछि निशुल्क उपचार पाउने आशले उनी गत आइतबार सेती प्रादेशिक अस्पताल पुगिन् तर वडाको सिफारिसले काम गरेन । उनलाई उपचारका लागि शुल्क तिर्नु प¥यो ।
सिटीस्क्यान र औषधी गरी ११ हजार खर्च भएको उनका श्रीमान छोटेलाल चौधरीले बताए । ‘ऋणसापटी गरेर उपचार गराउनु प¥यो । आधामात्र छुट गरिदिएको भए पनि निकै राहत हुन्थ्यो ।’
गत वर्ष सेतीमै सोनप्यारीको पाठेघरको निशुल्क शल्यक्रिया भएको थियो । विपन्न भएकाले वडाको सिफारिसका आधारमा उनले शल्यक्रियापछि नियमित जाँच निशुल्क गराउँदै आएकी थिइन् । पाठेघर, छाति र टाउको दुख्ने समस्या उनीमा देखिएको छ ।
निशुल्क उपचारका लागि दैनिक एक सय भन्दा बढी लक्षित वर्गका बिरामी सेती अस्पताल आउने गरेको सिकलसेल एनेमिया फोकल पर्सन गौरीदत्त जोशीले जानकारी दिए । उनका अनुसार सिकलसेलका पुराना विरामीहरु निशुल्क सेवा पाईरहेका छन् तर नयाँ आउने विरामीमा त्यो सुविधा छैन ।
‘सरकारले दिदै आएको लक्षित वर्गलाई निशुल्क उपचार सेवा अहिले स्थगित गरिएको छ । केन्द्रबाटै बजेट रोकिएकोले अस्पतालले सो सेवा पैसा नआएसम्म बन्द गर्नुपरेको हो ।’
जोशीका अनुसार सेवा लिन आउने धेरै विरामी पैसा नभएको कारण फिर्ता जानुपर्ने अवस्था छ । त्यसैले बजेट समयमै आईदिएको लक्षितवर्गलाई सेवा लिन सहज हुनेछ ।
लक्षित समूहलाई निशुल्क उपचारका लागि संघीय सरकारले शशर्त अनुदान शीर्षकमा प्रदेश सरकारलाई बजेट दिने गर्छ । अपुग बजेट प्रदेशले थपेर अस्पताललाई दिने गरेको थियो । यस वर्ष आएको एक करोड ८० लाख रुपैयाँ गत कार्तिकमै सकिएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए । उनका अनुसार थप तीन करोड २० लाख बजेट उपलब्ध गराइ दिन प्रदेशको सामाजिक विकास मन्त्रालयलाई गत पुसमा पत्राचार गरिएको थियो ।
‘पत्राचार गरेका छौँ तर थप बजेट दिनेबारे मन्त्रालयबाट जानकारी आएको छैन । बजेट नहुँदा निशुल्क उपचार सेवा स्थगित छ । लक्षित वर्गलाई निशुल्क सेवा दिन महिनामा करिब ४० लाख रुपैयाँ खर्च हुन्छ ।’













