भारतबाट नेपाल आउनेलाई कोरोना परीक्षण अनिवार्य

बैतडी, १८ चैत । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा कोरोना परिक्षण अनिवार्य गरिएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिएकोले कोरोना परीक्षण अनिवार्य गरिएको हो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइसंगै मास्क र परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनले भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको बताए । उनले भने, “सङ्क्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौँ ।”

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । सङ्क्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो ।

भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकामा कडाइ गरिएको जोशीको भनाइ छ । उनले भने, “भारतबाट फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका नाकामा थप कडाइ गरेका हौँ ।” चैत शुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ६२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ । स्वदेश फर्किनेको सङ्ख्या बढिरहेकाले जोखिम कम गर्न सीमामै परीक्षण गर्न लागेको बताए ।