टीकापुरको गौरव झल्काउन साहित्य महोत्सव

कैलाली, १४ चैत । टीकापुरको गौरव झल्काउन टीकापुरमै साहित्य महोत्सवको आयोजना गर्न लागिएको छ । यही चैत २५ देखि २७ गतेसम्म हुने साहित्य महोत्सव तयारी तीव्र पारिएको छ ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे । उनले “साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ । टीकापुरले यो महोत्सवबाट अर्को महेशविक्रम जन्माउनेछ ।” उनका अनुसार महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनुका साथै यहाँको सम्भावना र राम्रा पक्षको प्रचार हुनेछ ।

टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले सुदूरपश्चिम प्रदेशका सबै सम्भावनालाई साकार पार्न सबै एकजुट हुनुपर्ने बताए । उनले नेपाली भाषा र साहित्यको उर्वर भूमि सुदूरपश्चिमको दक्षिणपूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य आयोजना लागेको बताए ।

शाहाले राजा महेन्द्रले आारोग्यता प्राप्त गरेको भूमि टीकापुरमा नेपाली साहित्यकारको ठूलो जमघट हुन लागेको जानकारी दिए । “महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुनेछ ।” महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञसँग बृहट छलफल तथा बहस हुनेछ ।

साहित्य महोत्सवमा रु ४० लाखसम्म खर्च हुने अनुमान गरिएको आयोजकको दाबी छ । कार्यक्रममा रु एक लाखको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कारसमेत प्रदान गरिने भएको छ । रु ७५ हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, रु ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) प्रदान गरिने र रु २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छन् ।