सुदूपश्चिमको मन्त्रिमण्डल पूर्णता पाउनमा ढिलाई

कैलाली, १४ चैत । सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डलले अझै पूर्णता पाउन सकेको छैन । प्रदेश सरकार गठन भएको डेढ महिना पुग्न लागे पनि मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल पूर्ण गर्न सकेका छैनन् ।

गठबन्धन दलबीच भागबण्डा मिलाउन ढिलाइ भएको कारण मन्त्रिमण्डल विस्तार हुन ढिलाई भएको हो । मन्त्रालय भागबण्डाको सवालमा गठबन्धनबीच छलफलसमेत हुन सकेको छैन । मुख्यमन्त्री शाहले माघ २७ गते तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

उनले विश्वासको मतपछि मन्त्रिमण्डल विस्तार गर्ने यसअघि बताए पनि विश्वासको मत पाए लगत्तै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आएका कारण सो कार्य अगाडि बढेन । त्यसपछि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै मन्त्रिमण्डलको आकार बढाउने बताइएको थियो । उपराष्ट्रपतिको निर्वाचन सकिएको डेढ हप्ता पुग्दैछ । तर प्रदेश मन्त्रिमण्डल विस्तारको सुरसार भने हुन सकेको छैन ।

शाह नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री र नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री छन् । अब नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा जाँदैछन् । सङ्घको मन्त्रिमण्डल विस्तारपछिमात्रै सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ । सबै कुरा माथिबाटै प्याकेजमा सहमति हुने भएकाले अबको केहि दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने मन्त्री शाहीले बताए ।

‘सङ्घको मन्त्रिमण्डल विस्तारपछिमात्रै यहाँको विस्तार हुन्छ’, उनले भने,‘मन्त्रालय बाँडफाटको विषय पनि माथि नै टुङ्गिने छ ।’ मन्त्रालय भागबण्डाको विषयमा भने यहाँ गठबन्धन दलबीच त्यस्तो छलफल हुन नसकेको उनले बताए ।

मन्त्रालय भागबण्डाको विषयमा दलहरुले छलफल नचलाए पनि सबै दलको आ–आफ्नो दाबी छ । दुई मन्त्रीले मन्त्रालय पाइसकेको अवस्थामा नेकपा (एकीकृत समाजवादी) ले एक, नेकपा (माओवादी केन्द्र) ले दुई र नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा जम्मा छ वटा मन्त्रालय छ ।