घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्दै नेपाली महिला टिम
काठमाडौं, १३ चैत्र । नेपाली राष्ट्रिय महिला फुटबल टिमले ‘महिला ओलम्पिक फुटबल प्रतियोगिता, पेरिस २०२४’ का लागि एसियन छनोटअन्तर्गत पहिलो चरणको खेलमा चैत अन्तिम साता भियतनामसँग घरेलु मैदानमा दुई खेल खेल्ने तय भएको छ।
अखिल नेपाल फुटबल संघको आयोजनामा हुने प्रतियोगिता २२ र २५ चैतमा आयोजना गर्न लागिएको हो। नेपाल र भीयतनामबीचको पहिलो खेल अप्रिल ५ अर्थात २२ चैतमा हुँदा दोस्रो खेल अप्रिल ८ अर्थात २५ चैतमा दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ। प्रतियोगिताका लागि सहभागी हुन भियतनामको राष्ट्रिय महिला टोली ३ अप्रिलमा काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ। उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले बन्द प्रशिक्षणमा रहेको छ।
प्रतियोगिताको लागि एन्फाले एमडीएसी स्पोर्ट्स प्राइभेट लिमिटेडसँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरिसकेको जनाएको छ। प्रतियोगिताको लागि एन्फाले साधारण प्यारापिटतर्फ ३०० रुपैयाँ र भीआइपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट मूल्यसमेत निर्धारण गरेको छ। खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने छ। प्रतियोगिताको अनुमानित बजेट करिब ४३ लाख रहेको छ।













