धनगढीका स्वास्थ्यकर्मी छ महिनादेखि तलब नपाउँदा आन्दोलित
कैलाली १२ चैत । धनगढी उपमहानगरपालिका भित्रका स्वास्थ्यकर्मीहरु छ महिनादेखि तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरू तलब भत्ता यथाशीघ्र पाउनुपर्ने माग गर्दै आन्दोलित भएका हुन् ।
धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिरी गरेर आफ्ना माग पूरा गर्न हातमा कालो पट्टी बाँधेर दबाबमूलक कार्यक्रम अघि बढाएका छन् ।

उनीहरूले माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रम गर्ने बताएका छन् ।
विगत ६ महिना देखि सेवा सुविधा नपाउँदा दैनिक जीवनयापन गर्नमा समेत कठिनाइ भइरहेको उनीहरूको भनाई छ । उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलब भत्ता रोकिएको नगरपालिकाले जनाएको छ ।













