जिसिअ भट्टसहित छ जनाविरुद्ध आर्थिक हिनामिनाको मुद्दा
कैलाली, १२ चैत । जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित छ जनाविरुद्व पद दुरुपयोग गरी आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको छ । आयोगले विशेष अदालत, काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भट्टले नियुक्तिपत्र नै नभएको गैर शिक्षक मनकाकुमारी अवस्थीलाई ‘हुनैनाथ आधारभूत विद्यालय सल्सेना’ को व्यवस्थापन समितिबाट कुनै कागजात बिना नियुक्ति दिइएको आरोपमा मुद्धा दायर भएको हो ।
आरोपित भट्टले प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफैंले स्वीकृत गरेर सो विद्यालयदेखि बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधा निकासा हुँदा ७४ हजार ९२० रुपैयाँ सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुराएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, मनकाकुमारी अवस्थीले सरुवा भएको झुट्टो पत्रको आधारमा शिक्षक भई पारिश्रमिक लिएको आरोप छ । सोही कार्यालयका तत्कालीन स्रोत व्यक्ति हरिनाथले अवस्थीले नियुक्तिपत्र नलिएको जानकारी हुँदाहुँदै अनियमित कार्यमा मतियार भई सहयोग गरेको, बलैराज निमाविका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले आफ्नो विद्यालयमा सरुवा भई आउने कुनै निर्णय र सिफारिस समेत नभएको अवस्थमा प्रधानाध्यापक र निजको संयुक्त दस्तखतमा पारिश्रमिक रकम भुक्तानी गरेको आरोप छ । पश्चिम टुडेबाट ।













