सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

कैलाली । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार पछिल्लो तीन वर्ष यता १० हजार बढी महिला तथा किशोरीले गर्भपतन गराएका छन् । यो तथ्यांकले गर्भपतन गराउनेहरूको संख्यामा निरन्तर बृद्धि भइरहेको देखाउँछ ।

जनचेतना तथा युवा जागरण मञ्च नेपाल र आईपास नेपालको आयोजनामा धनगढीमा यौन तथा प्रजनन स्वास्थ्य र जलवायु परिवर्तनसम्बन्धी सञ्चारकर्मीसंग छलफल कार्यक्रममा प्रस्तुत तथ्यांकमा आर्थिक वर्ष ०७६/७७ देखि आर्थिक वर्ष २०७८/०७९ सम्मको अवधिमा औषधी खाएर तथा सल्यक्रियामार्फत १० हजार एक सय ४७ जनाले गर्भपतन गराएका छन् ।

स्वास्थ्य कार्यालय कैलालीका रमा गिरीका अनुसार अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पाँच हजार पाँच सय ६७ जना २०७७/०७८ मा दुई हजार छ सय २९ जना २०७६/०७७ मा एक हजार नौ जना रहेको छन् ।

सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरूले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गरेका छन् ।कैलालीमा गर्भवती महिलाले औषधी खाएरभन्दा बढी सल्यक्रिया मार्फत गर्भपतन गराउनेको संख्या बढी छ ।

नेपाल सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपछि गर्भपतन गराउने संख्यामा बृद्धि आइरहेको हो । गर्भपतनले कानुनी मान्यता पाउनुअघि नेपालमा असुरक्षित तथा लुकिछिपी गर्भपतन हुने गरेको थियो । असुरक्षित गर्भपतनका कारण धेरै गर्भवति महिलाले जोखिम बेहोर्नु परिराखेको थियो ।

नेपालमा कुल मातृ मृत्यु दरमध्ये सात प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १९ प्रतिशत महिलाहरूमा अनिच्छित गर्भ हुने गरेको छ । नेपालमा सन् २०१५–२०१६ मा अनुमानित एक लाख ६० हजार पाच सय ६६ प्याकेट गर्भपतनसम्बन्धी औषधि खपत भएको देखिन्छ । त्यसमध्ये सात प्रतिशत गर्भपतनका औषधि नेपालमा दर्ता नभएका औषधि रहने गरेका छन् ।