शिक्षा र स्वास्थ्य सुधारका लागि कार्यदल गठन

कैलाली, २ चैत । सुदुरपश्चिम प्रदेश सरकारले मन्त्रि परिषदको बैठकबाट शिक्षा र स्वास्थ्य सुधारकोलागि कार्यदल गठन गरेको छ । बैठकको निर्णय अनुसार प्रा.डा.हेमराज पन्तको संयोजकत्वमा ३ सदस्यीय शिक्षा क्षेत्र सुधार सुझाब कार्यदल बनाउने निर्णय गरेको हो ।

यसैगरी सेती प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष तथा पूर्व मेडिकल सुपरिटेण्डेट डा.गणेश बहादुर सिंहको संयोजकत्वमा ३ सदस्यीय स्वास्थ्य क्षेत्र सुधार सुझाब कार्यदल गठन गरिएको छ । दुबै कार्यदललाई काम सुरु गरेको दिन देखि ३५ दिनको कार्य अवधी तोकिएको छ ।

मुख्यमन्त्रि कमल शाहको अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्बाधार विकास मन्त्रि प्रकाश देउवा र आर्थिक मामिला मन्त्रि नरेश शाहीको उपस्थितिमा बिगतमा उपभोक्ता समिति र साना योजना मार्फत भईरहेको बजेटको दुरुपयोग रोक्न महत्वपूर्ण निर्णयहरु पनि गरेको छ ।

सुदुर पश्चिम प्रदेश बिशेष अनुदान सम्वन्धी कार्य विधि २०७९ पास गर्दै प्रदेश सरकारले त्यसका लागि बजेट सिलिङ कम्तिमा २५ लाख रुपैया बनाएको छ ।

बुधवार बसेको मन्त्रि परिषदको बैठकले सुदुर पश्चिम प्रदेश समपुरक अनुदान सम्वन्धी कार्य विधि २०७९ समेत स्वीकृत गर्दै त्यसको बजेट सिलिङ कम्तिमा ५० लाख बनाएको छ । साथै दुईवटै कार्यबिधी कार्यान्वयनमा उपभोक्ता समिती मार्फत कार्यान्वयन गर्ने सवाललाई निरुत्साहित गरेको छ ।

उपभोक्ता समिति र साना योजना मार्फत प्रदेश सरकारको बजेटको चरम दुरुपयोग भएको व्यापक गुनासो आएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । यसले साना योजनाका नाम र उपभोक्ता समितिका नाममा भईरहेको भ्रष्टाचारलाई रोक्ने विश्वास गरिएको छ ।