उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि शुरू
काठमाडौं, १ चैत । उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि शुरू भएको छ। मौन अवधि मंगलबार राति १२ बजेदेखि शुरू भएको हो।
मतदान हुने दिनभन्दा ४८ घण्टाअघि शुरू भएको मौन अवधि मतदान केन्द्र बन्द नहुन्जेल लागू हुने निर्वाचन आयोगले जनाएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ। साथै‚ भेटघाट गरी मत माग्न, एसएमएस, फेसबूक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि मत माग्न पाइँदैन। आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यममा जितरहारको पूर्वानुमानका सामग्रीहरू प्रसार जस्ता काम पनि गर्न नहुने आयोगले स्पष्ट पारेको छ।
उपराष्ट्रपतिका लागि नेकपा ९एमाले०की अष्टलक्ष्मी शाक्य ९बोहरा०, जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव तथा जनमत पार्टीबाट ममता झाले मनोनयन दर्ता गरेका छन्। प्रमिला कुमारीले भने आफ्नो समर्थन रामसहायप्रसादलाई रहने घोषणा गरिसकेकी छन्।













