कञ्चनपुरको होमस्टेमा पाहुनाको भीड बढ्दै

कञ्चनपुर, २७ फागुन । कोरोना महामारीपछि सुनसान बनेका होमस्टेमा अहिले विदेशी पर्यटकहरु आउन थालिसकेका छन् ।

यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेको सञ्चालक चेतराम राना बताउँछन् । अहिले १६ वटा घरबास विदेशी पर्यटक बसेका छन् ।

“कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, अहिले त अग्रिम बुकिङ हुने गरेका छन्”, उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशीको रोजाइ घरबास हुने गरेको छ । “होटेलमा महँगो र हो–हल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्ने गरेका छन्”, रानाले भने, “विदेशीलाई स्थानीय खानाका परिकार र राना समुदायको नृत्यले स्वागत गर्ने गरेका छौँ ।”

अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए । उनले अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने समय भएकाले पनि पाहुना बढी आउने गरेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आयस्तरमा समेत वृद्धि हुन थालेको उनले बताए । “राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, रानाले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् ।” रासस ।