राष्ट्रपति चयनका लागि १० बजेदेखि मतदान हुने

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनकालागि लागि आज १० बजेदेखि मतदान हुँदैछ। मतदान नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने छ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यले मतदान गर्ने छन्। निर्वाचन सकिएलगत्तै मतगणना शुरू गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदानका लागि सङ्घीय सांसद र प्रदेश सभा सदस्यको बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्बाङ प्रतिस्पर्धामा छन्। पौडेल नौ दलको तर्फबाट उम्मेदवार हुन् भने नेम्बाङ एमाले हुन्।

राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता रहेका छन्। जसमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सदस्य छन्। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।