नागरिक उन्मुक्तिले पनि सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने

कैलाली, २१ फागुन । नागरिक उन्मुक्ति पार्टीले पनि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसका नेताहरूसँगको छलफलपछि नागरिक उन्मुक्तिले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो। “हाम्रा माग पूरा हुने भएपछि प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौं,” अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा पनि सहभागी हुने अध्यक्ष श्रेष्ठले बताइन्। “मुख्यमन्त्रीलाई विश्वासको मत दिने र प्रदेश सरकारमा सहभागी हुने पनि निर्णय गरेका छौं,” अध्यक्ष श्रेष्ठले भनिन्। प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन्।

यसअघि नेकपा ९माओवादी केन्द्र०ले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। प्रदेश सभामा माओवादीका सभामुख सहित ११ सांसद छन्।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। अब गठबन्धनमा रहेका सबै दल समर्थनमा उभिने भएपछि मुख्यमन्त्री शाहले विश्वासको मत पाउने भएका छन्। प्रदेश सभामा १९ सांसद रहेको कांग्रेस र चार सांसद रहेको नेकपा ९एकीकृत समाजवादी० सरकारमा सहभागी छन्।

नेकपा ९एमाले० संसदीय दलका राजेन्द्रसिंह रावल नेतृत्वको संयुक्त सरकारले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हुन्। यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने धारा १६८ को उपधारा ४ मा व्यवस्था गरिएको छ।

संवैधानिक व्यवस्था अनुसार सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिंदै छन्।